छठका लागि जनकपुरमा भित्रियो पाँच करोडको केरा

धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा पाँच करोड रुपैयाँबराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले अघिल्लो वर्ष करिब चार करोड रुपैयाँभन्दा बढीको केरा भित्र्याइएकामा यो बर्ष करिब पाँच करोड रुपैयाँबराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिए । जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ ।

मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यो वर्ष २० प्रतिशतले केराको मूल्य बढेको उनले बताए ।

फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च छ लाख रुपैयाँ पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजार रुपैयाँसम्म मूल्यमा बिक्री गरिन्छ ।

नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
415
सम्बन्धित

लोकप्रिय

लोकप्रिय