झापा । यस वर्ष भाइटीकाको साइत आइतबार बिहान ११ः ३७ बजे परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको जानकारी दिएको हो ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने जानकारी दिएका छन् । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।
नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु भएको थियो । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार मनाइएको थियो ।
कात्तिक १६ गते शुक्रबार औँशी परेको थियो । शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा गरिएको छ भने नेपाल संवत् ११४५ पनि प्रारम्भ भएको छ । कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ ।