काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीलाई २-१ ले पराजित गरेर साफ च्याम्पियन बनेको बंगलादेशी टोलीलाई उनीहरूको स्वदेशमा भव्य स्वागत गरिएको छ। विजेता टोलीलाई नगर परिक्रमा गराएर सम्मान गरिएको हो। टोलीले समूहचरणमा भारतको चुनौती पन्छाउँदा फाइनलमा भने साविक उपविजेता नेपाललाई नै हराएर लगातार दोस्रो पटक उपाधि जितेको थियो।
बंगलादेशको यो दोस्रो साफ उपाधि हो। बंगलादेशको खेलकुद मन्त्रालयले साफ महिला च्याम्पियन बनेको आफ्नो देशको महिला खेलाडीको टोलीलाई एक करोड टाका पुरस्कार दिने घोषणा समेत गरेका छन्।
खेलकुद सल्लाहकार आसिफ महमुद शोजिब भुयानले आफ्नो मन्त्रालयको तर्फबाट साफ च्याम्पियनसिप जित्ने बंगलादेश महिला फुटबल टोलीलाई एक करोड बंगलादेश टाका नगद पुरस्कार दिने घोषणा गरेका हुन्।
टोलीलाई बंगलादेशमा विभिन्न क्षेत्रले पुरस्कार घोषणा गरिरहँदा महिला खेलाडीको चर्चा उत्कर्षमा पुगेको छ। नेपाललाई हजारौं दर्शकमाझ घरेलु मैदानमा स्तब्ध बनाउन बंगलादेश सफल भएको थियो।