तिहार आज खाली, शनिबार एकैदिन ६ वटा पर्व

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ। औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार रहेको समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उहाँको भनाई छ । यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ।

कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो। यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएपछि सकिन्छ।


नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरुले बताएका छन् ।

कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवर्द्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ गरी ६ वटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) र भित्तेपात्रोमा उल्लेख गरिएको छ ।

शुक्रबार नै गाई पूजा भनी चर्चा भइरहेकाले यसप्रति सचेत हुन समितिले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
291
सम्बन्धित

लोकप्रिय

लोकप्रिय