झापाका एक विद्यालयका शिक्षकले उत्तरपुस्तिका परीक्षण नै नगरी विद्यार्थीलाई ग्रेड दिएपछि

विनोद सापकोटा,
झापा । झापा शिवसताक्षीको सामुदायिक विद्यालयका एक विषय शिक्षकले परीक्षामा विद्यार्थीले लेखेको उत्तरपुस्तिका परीक्षण नै नगरी ग्रेड सिटमा ग्रेड भरिदिएको खुलेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेमा रहेको सामुदायिक विद्यालयमध्येको उत्कृष्ट राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा निमावि तृतीय श्रेणीमा कार्यरत विज्ञान विषयका शिक्षक शिवकुमार आङ्वोले विद्यार्थीको उत्तरपुस्तिका परीक्षण नै नगरी ग्रेड दिएको खुलासा भएको हो । उनले ५० पूर्णाङ्कको लिखित परीक्षाको उत्तरपुस्तिका परीक्षण नगरेका हुन् ।

शिक्षक आङ्बोले कक्षा ६ सेक्सन ‘वि’ का २६ विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरेका छ्रैनन् । तर, उनले प्राप्ताङ्क सिटमा ग्रेडिङ गरेका छन् । प्राप्ताङ्क सिट हेर्दा उनले मनलाग्दी ग्रेडिङ गरेका छन् । उत्तरपुस्तिकामा एक जना विद्यार्थीले हामीलाई पढाएको छैन भनेर पनि लेखेका छन् । विद्यार्थीमाथि यो हदसम्मको लापरवाही क्षम्य नहुने अभिभावकले बताएका छन् ।अंग्रेजी र नेपाली दुबै माध्यममा अध्ययन अध्यापन हुने सो विद्यालयमा विज्ञान विषयको उत्तरपुस्तिका परीक्षण नगरी विद्यार्थीलाई नम्बर दिएको पाएपछि विद्यालयका प्रधानाध्यापक लालमणी सुवेदी पनि आश्चर्यमा परेका छन् । प्रधानाध्यापक सुवेदीको हस्ताक्षर पनि प्राप्ताङ्क सिटमा छ । उत्तरपुस्तिका परीक्षण गरे नगरेको जाँच नगरी प्रधानाध्यापक सुवेदीले हस्ताक्षर गरेको खुलेको छ । प्राप्ताङ्क सिटमा वर्ग शिक्षको पनि हस्ताक्षर छैन । विषयगत शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेपछि ग्रेडसहित वर्ग शिक्षकलाई दिनु पर्ने प्रावधान अन्य विद्यालयले अपनाएका छन् । तर, राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले वर्ग शिक्षकको हस्ताक्षरको महल ग्रेड सिटमा राखेको छैन ।

यसअघि विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरि अभिभावकको उपस्थितिमा नतिजा प्रकाशन गर्दै आएको थियो । गएको कात्तिक ९ गते सार्वजनिक गरिएको नतिजा विद्यालयको प्रशासन कक्षबाटै विद्यार्थीलाई उपलब्ध गराइएको समाचार स्रोतले बताएको छ । विद्यार्थीको क्षमता मापन नगरी दिएको नम्बरले विद्यार्थीको शैक्षिक भविष्यमाथि नै चरम खेलवाड भएको अभिभावक रामकुमार पौडेलले बताए । उनका अनुसार यो हदसम्मको लापरवाहीले हामी अभिभावक र स्वयम् विद्यार्थीलाई पीडा भएको छ ।

विद्यालयका प्रधानाध्यापक सुवेदीले यो हदैसम्मको लापरबाही भएको बताए । उनले यो विषयमा विद्यालयले तत्काल अनुसन्धान गरी दोषी शिक्षकमाथि कारबाही गर्ने बताए ।शिक्षक आङ्वोले यसअघि पनि उत्तरपुस्तिका परीक्षण नगरी विद्यार्थीको ग्रेडिङ सिटमा ग्रेड दिने गरेका थिए । समाचार स्रोतका अनुसार एक पटक उत्तरपुस्तिका हराएर यसरी नै ग्रेडिङ गरेका थिए । शिक्षक आङ्वोले आफ्नो गल्ती लुकाउन विद्यालयमा केही थान पंखा किनिदिएपछि घटना सामसुम बनेको स्रोतको भनाई छ ।

शिक्षकको यो प्रकृतिको लापरवाहीले सबै शिक्षक लज्जित हुनुपरेको ७ नम्बर वडास्थित एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले बताए । उनले भने,‘ जोसुकै शिक्षक होस् विद्यालय प्रशासनले कारवाहीको दायरामा ल्याओस् ।’ यता शिवसताक्षी नगरपालिकाका शिक्षा अधिकारी छवि ढकालले विद्यालयको अनुगमन गर्ने र शिक्षकको त्रुटि भेटिए कारबाही गर्ने जनाएका छन् ।

‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा यस्तो काम गर्ने शिक्षकलाई सेवाबाट हटाइने व्यवस्था छ । कुनै शिक्षकले अध्यापन गर्ने जिम्मेवारी पूरा गर्न नसकेमा, परीक्षामा प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने, परीक्षा सञ्चालनमा अमर्यादित काम गर्ने वा गराउने,उत्तरपुस्तिका परीक्षणमा लापरबाही गर्ने तथा नतिजा प्रकाशनमा अमर्यादित कार्य गरेमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाइने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
5
+1
3
+1
6
+1
5
42.1k
सम्बन्धित

लोकप्रिय

लोकप्रिय