काठमाडौं । नेपाल पुलिस क्लबकी फरवार्ड दीपा न्यौपानेको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) को शल्यक्रिया सम्पन्न भएको छ । राष्ट्रिय महिला लिगमा विभागीय प्रतिद्वन्दी आर्मी फुटबल क्लबविरुद्ध खेल्दा दीपा घाइते भएकी थिइन् ।
सोमबार उनको सातदोबातोस्थित बिएन्डबी अस्पतालमा सल्यक्रिया सम्पन्न भएको हो । डा.अमित जोशीको टोलीले शल्यक्रिया गरेको थियो । अब उनी ९ महिना मैदान बाहिर रहनेछिन्। लिगको पहिलो चरण सकिदा पुलिस तेस्रो स्थानमा छ। एन्फाका अनुसार दोस्रो चरण चैतमा हुनेछ । दिपाले दोस्रो चरणका खेल गुमाउने छिन् ।
पहिलो चरणमा दीपाको नाममा तीन गोल छ । उनले सुदूरपश्चिमविरुद्ध ह्याट्रिक गरेकी थिइन् । ‘लिगमा खेल्दा घुँडामा समस्या आएको थियो । त्यसपछि एमआरआइ गर्दा शल्यक्रिया गर्नुपर्ने देखियो। त्यसैले आज शल्यक्रिया सम्पन्न भएको छ,’ दीपाले भनिन् ।
गत साता दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दा नेपाल राष्ट्रिय टोलीका रक्षक हीराकुमारी भुजेल र मिडफिल्ड दीपा शाहीको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) मा चोट लागेको थियो । उनीहरू पनि ९ महिना मैदान बाहिर रहने भएका छन्।