बिर्तामोड । झापाको अर्जुनधारामा स्कुल बस दुर्घटना हुँदा बालबालिकासहित करिव एक दर्जन घाइते भएका छन् । आज बिहान अन्दाजी १० बजे अर्जुनधारा नगरपालिका वडा नम्बर १ शनिश्चरे–साधुटारस्थित भित्री सडकखण्डमा माटेबाट साधुटारतर्फ आउँदै गरेको अर्जुनधारा १ बस्ने २८ वर्षीय मदन सुवेदीले चलाएको लोमस पब्लिक बोडिङ स्कुलको ना ३ ख ५५१३ नं. को स्कुल बस विद्यार्थीहरु बोकी विद्यालयतर्फ जाँदै गर्दा अचानक ब्रेक फेल भई पल्टिएको थियो ।
दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा बुद्धशान्ति १ बस्ने किरण सम्वाम्फेकी छोरी ४ वर्षीया आर्या सम्बाहाम्फे, सोही ठाउँ बस्ने सुवार राईका छोरा ९ वर्षीय सुधान राई, अर्जुनधारा १ बस्ने मनिकुमार सुनवारका छोरा ६ वर्षीय सिमान्त सुनुवार, मनिकुमारकै छोरी ९ वर्षीया वर्षा सुनुवार, सोही ठाउँ बस्ने समिदेव राईकी छोरी ५ वर्षीया यमोलिसा राई, सन्जिव राईका छोरा ७ वर्षीय साहिल राई, रविन राईकी छोरी ८ वर्षीया आज्ञा राई, प्रवेश राईका छोरा ४ वर्षीय प्रशान्त राई, सुरज राईकी छोरी ५ वर्षीया सोफिया राई, सोही ठाउँ बस्ने उक्त स्कुलका शिक्षक ३४ वर्षीय डिल्लीराम सुवेदी र बस चालक मदन सुवेदी रहेका छन् ।
घाइतेहरुलाई उपचारका लागि शनिश्चरे अस्पतालमा ल्याइएको थियो । सामान्य घाइते भएका उनीहरु उपचारपछि सबैजना डिस्चार्ज भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।