रास्वपाभित्र कार्यवाहकको लडाइँ, वाग्ले र अर्यालबिच टकराब

काठमाडौं । पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि एकमतका साथ सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा कार्यवाहक तोक्ने विषयमा भने कित्ताकाट शुरु भएको छ । उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालमध्ये कसले कार्यवाहक लिने भन्ने विषयमा सो पार्टीभित्र आन्तरिक बहस चलिरहेको छ । यद्यपि, लामिछाने पक्राउ परेपछि कार्यवाहक सभापतिको अभ्यास भने भइसकेको छ । कात्तिक ५ गते विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदा रास्वपाबाट हस्ताक्षर अर्यालले गरेका थिए । विपक्षी अन्य चार दलका अध्यक्षले हस्ताक्षर गरेको ज्ञापनपत्रमा अर्यालले रास्वपाबाट सभापतिको हैसियतमा हस्ताक्षर गरेका थिए ।


सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा कात्तिक २ गते पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि दुई पटक म्याद थप गरिसकेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना विषयमा अनुसन्धानका लागि पहिलो पटक ६ दिन र दोस्रो पटक सात दिनको म्याद थप भएसँगै लामिछाने तिहारअघि कास्की प्रहरीको हिरासतबाट निस्कने कुनै छाँट छैन ।

पछिल्ला दिन रविका लागि थप प्रतिकुल बन्दै गएको अनुमान गरेरै होला, रास्वपाभित्र कार्यवाहकको लडाइँ सुरु भएको छ । कानुनी राज्य र विधिको शासनको चर्को वकालत गर्ने रास्वपाले रवि पक्राउ परेको दुई साता बित्न लागिसक्दा पनि कार्यवाहक नतोक्दा एकातिर आलोचना खेप्नु परिरहेको छ भने अर्कोतिर उपसभापति डा. वाग्ले र अर्याल कित्तामा नेतारकार्यकर्ता विभाजित हुन थालेका छन् । रविपछिको नेतृत्वमा आ–आफ्नो दाबी गरिरहेका यी दुईको टकरावले नेताहरु दुई खेमामा बाँडिएको र किचलो शुरु भएको सहजै बुझ्न सकिन्छ । पछिल्ला दिनमा रास्वपाभित्र ‘अर्याल समूह’ कि ‘वाग्ले समूह’ भन्ने भाष्य नै स्थापित हुन थालेको छ ।


रास्वपाका एक नेताका अनुसार उपसभापति अर्याल र वाग्लेबीच मनमुटाव पुरानै हो । लामिछानेले अर्याललाई दोस्रो पटक श्रम तथा रोजगारी मन्त्री बनाएकोमा वाग्ले असन्तुष्ट थिए । यद्यपि ‘रवि लामिछाने बचाऊ’ अभियानअन्तर्गत आन्दोलनका कार्यक्रम तय गर्न बसेको पछिल्लो केन्द्रीय समिति बैठकमा अर्यालले अध्यक्षता गरे । त्यसमा वाग्ले सन्तुष्ट नरहेको नेताहरु बताउँछन् । सभापति लामिछाने र उपसभापति अर्यालको सम्बन्ध रास्वपा गठन हुनु अघिदेखिकै हो । दुईबीचको सम्बन्ध लामिछाने टेलिभिजन प्रस्तोता र अर्याल इजिलिंक रेमिट्यान्स कम्पनीमा आबद्ध हुँदादेखिको हो ।

अर्याल र लामिछानेबीचको सम्बन्ध यति निकट र भावनात्मक छ कि, अर्यालले उक्त रेमिट्यान्स कम्पनीको गुडविल एम्बेस्डर लामिछानेलाई बनाएका थिए । न्युज २४ मा सीधा कुरा जनतासँग लामिछाने प्रस्तोता रहेकै बेला पनि अर्यालले रविलाई जापान भ्रमणसमेत गराएका थिए । २०७९ साल ७ असारमा रास्वपा गठन भएको थियो । असार १७ गते रास्वपा निर्वाचन आयोगमा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा अर्याललाई लामिछानेले तेस्रो नम्बरमा राखेका थिए । सभापति लामिछाने, प्रवक्ता मुकुल ढकाल र अन्यलाई सदस्यका रुपमा निर्वाचन आयोगमा सूची बुझाउँदा अर्याललाई तेस्रो वरीयता दिइएको थियो ।

पार्टी गठन भएको भएको दुई महिनापछि २०७९ भदौ ६ मा सभापति लामिछानेले पदाधिकारीको संख्या विस्तार गर्दा लामिछानेले उपसभापतिमा अर्याललाई रोजेका थिए । उनी १५ महिनासम्म एकल उपसभापतिका रुपमा काम गरे । वाग्लेलाई भने लामिछानेले पार्टी विधान अनुसार २०८० को मंसिरमा वाग्लेलाई उपसभापति मनोनित गरेका थिए । रास्वपा विधानअनुसार सभापतिले तोकेका दुई उपसभापतिमध्ये एकजना कार्यवाहक सभापति हुने व्यवस्था छ । उपसभापति अर्याल र वाग्लेमध्येबाट नै एकलाई लामिछानेले कार्यवाहक सभापति तोक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
295
सम्बन्धित

लोकप्रिय

लोकप्रिय