साफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशकालागि भारत र नेपाल भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने दाउका साथ आज नेपालले पाँच पटकको विजेता भारतविरुद्ध खेल्दैछ। यो खेल आज राति साढे ६ बजे दशरथ रंगशालामा हुनेछ । घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन्। पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो। जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो। त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ।


पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन। समग्रमा भने नेपालमाथि भारत हाबी छ। यी दुईबिच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन् । साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। तर विगतमा दक्षिण एसियाली महिला फुटबलमा एकछत्र राज गरेको भारतको चमक अहिले कम भइसकेको छ । यस प्रतियोगिताको समूह चरणमा पनि बङ्गलादेशसँग ३–१ ले हारेर भारतले समूह ‘ए’ उपविजेतामा चित्त बुझाएको थियो। जसको फाइदा नेपाललाई सेमिफाइनलमा हुन सक्छ। नेपाल हजारौँ घरेलु दर्शकको ऊर्जा र मैदानको फाइदामा खेल्दै छ। पछिल्ला दुई खेलमा १७ गोल गरेपछि नेपाली स्ट्राइकरहरू अहिले उच्च मनोबलमा छन्।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाल बाँकीका दुई खेलमा तुलनात्मक रूपमा कमजोर मानिएका माल्दिभ्सलाई ११–० र श्रीलङ्कालाई ६–० ले हराएर समूह ‘बी’ विजेता बनेको हो। त्यसैले यस प्रतियोगितामा नेपालको वास्तविक परीक्षा भारतविरुद्ध नै हुने छ। नेपालका प्रशिक्षक राजेन्द्र तामाङले श्रीलङ्कालाई हराएपछि पोस्ट म्याच कन्फरेन्समा भारतलाई हराउन सम्पूर्ण शक्ति लगाएर आफ्ना खेलाडीले प्रदर्शन गर्ने बताए।


प्रशिक्षक तामाङलाई पहिलो रोजाइका दुई खेलाडी हिराकुमारी भुजेल र दीपा शाही नहुँदा रणनीति बनाउन केही कठिन हुन सक्छ। भुटानविरुद्धकै पहिलो खेलमा घाइते हुँदा यी दुवै खेलाडी प्रतियोगिताबाट बाहिरिएका थिए। ‘राइट ब्याक’ पूजा राना पनि चोटकै कारण पहिलो खेल खेलेपछि मैदानमा छैनन्। नेपालको प्रमुख शक्ति भनेको दक्षिण एसियाकै सर्वश्रेष्ठ महिला फुटबलर सावित्रा भण्डारीको उपस्थिति हो । पछिल्लो संस्करणमा नेपालले सावित्राबिना नै भारतलाई हराएको थियो।

अहिले सावित्राको उपस्थितिमा नेपाली टिम उच्च मनोबलमा खेल्ने पक्का छ। सावित्रा ५३ अन्तर्राष्ट्रिय गोल गरिसकेकी स्ट्राइकर हुन्। अर्की स्ट्राइकर रेखा पौडेल पनि भारतविरुद्ध हेर्नलायक खेलाडीका रूपमा रहनेछन्। जारी खेलमा प्रतियोगितामा रेखाले सर्वाधिक सात गोल गरेकी छन्।

आजै पहिलो सेमिफाइनलमा साविक विजेता बङ्गलादेश र भुटानबिच पनि प्रतिस्पर्धा हुने छ। यो खेल दिउँसो साढे एक बजे दशरथ रंगशालामै हुनेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
439
सम्बन्धित

लोकप्रिय

लोकप्रिय