केर्खा दुर्घटनापछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु

झापा । कमल गाउँपालिकाको केर्खामा दुर्घटना भएपछि हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्षसंग ४ बुँदे सहमति भएपछि अहिले बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो । गएराति ९ बजेदेखि आज बिहान २ः३० बजेसम्म कमल–३ स्थित केर्खा बजारमा रहेको वडा नं–३ का वडाध्यक्ष अग्नी कोइरालाको घरमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको रोहवरमा वडाध्यक्ष कोइराला, पीडित पक्ष, नागरिक समाज र प्रहरी प्रशासनलगायत करिब २० जनाको उपस्थितिमा सर्वपक्षीय बैठक ४ बुँदे लिखित सहमति गरिएको हो ।


पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिलाउनका प्रयत्न गर्ने, जनप्रतिनिधि तथा प्रशासनको संयुक्त पहलमा दोषी चालकमाथि कार्वाही लागि माग गर्ने, त्रिपक्षीय सहमतिलाई कार्यान्वयन गर्ने र कानुनी प्रकृया पुरा गर्नका लागि भइरहेको अवरोध हटाई अगाडि बढ्ने सहमति भएको हो । उक्त सहमति गरेपश्चात् आज बिहान ३ः५० बजेदेखि प्रहरीले आवश्यक कानुनी प्रक्रिया र मुचुल्काको कार्य शुरु गरेको थियो । प्रहरीले बिहान ५ बजे मृतकहरुको शव मे १ च १३३३ नम्बरको एम्बुलेन्समा राखी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ । सहमति भएपछि बिहान ५ः०५ बजेदेखि पूर्वपश्चिम राजमार्ग सुचारु भएको र हालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

काँकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नं को रात्रिबसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो । सोही दिशातर्फ जाँदै गरेको इलेक्ट्रिक साइकललाई हिजो साँझ ५।३० बजे रात्रिबसले ठक्कर दिएको थियो । दुर्घटनामा मनोज इजमकी अन्दाजी ९ वर्षकी छोरी कृपा इजम र उनका बुवा ६० वर्षीय टेकबहादुर इजमको मृत्यु भएको हो । ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको थियो । आक्रोशितहरुले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरेका थिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका यातायातका साधन शिवसताक्षीस्थित कमल खोलाको पुलमा रोकिएका थिए भने पूर्वतर्फ आउने यातायातका साधन सीतापुरीमा रोकिएका छन्। जसका कारण गन्तव्यमा पुग्ने यात्रु बीचबाटोमै अलपत्र परेका थिए ।


केर्खा बजारमा रहेको प्रहरी बिट आगजनी गरेर ध्वस्त बनाइदिएका छन्। आगलागी नियन्त्रणका लागि तयारी अवस्थामा रहेको दमकल ३०० मिटर नजिकको प्रहरी बिटमा लगाइएको आगो निभाउन आउन सकेन । प्रहरी चौकीको गेट बाहिरैबाट ढुङ्गामुढा प्रहार गर्दा बसमा क्षति भएको छ भने प्रहरी चौकीको झ्यालमा समेत क्षति भएको छ । यस्तै प्रहरीलाई ढुङ्गा हान्ने क्रममा प्रहरी चौकी अगाडि पार्किङ गरिएको दमकलको सिसा फुटेको छ । भएपछि भड्किएको स्थिति नियन्त्रणमा लिन प्रहरीले केर्खामा दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।जनपद प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्यास फायर गरेको थियो । आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ५ जना घाइते भएका छन् । उनीहरुको अबस्था सामान्य रहेको डीएसपी चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
512
सम्बन्धित

लोकप्रिय

लोकप्रिय