संधै पराजित हुने भुटानले नेपाललाई बराबरीमा रोक्दै रच्यो इतिहास

काठमाडौं। नेपालसंग संधै पराजित हुने भुटानले नेपाललाई बराबरीमा रोक्दै साफ महिला च्याम्पियनसिपमा इतिहास रचेको छ। भुटानको जितमा गोलकिपर संगीता मोंगेर नायक बनीन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले दर्जन अवसर बनाएपनि गोलमा परिणत गर्न सकेन। फलतः नेपाल साफ इतिहासमै पहिलोपल्ट भुटानसँग गोलरहित बराबरीमा रोकिन पुग्यो। नेपालले यसअघिका चार भेटमा भुटानमाथि सहज जति हासिल गरेको थियो।


अघिल्लो संस्करणमा भुटानले आफ्नो पहिलो खेलमा नेपालको सामना गरेको थियो। उक्त खेलमा नेपाली गोल मेसिन सावित्रा भण्डारी र अनिता बस्नेतको सानदार प्रदर्शनमा नेपाल ४–० ले विजयी भएको थियो। साफ माहिला च्याम्पियनसिपमा नेपाल र भुटानको पहिलो भेट सन् २०१४ मा समूह चरणमा भएको थियो। उक्त खेलमा नेपाल ८–० ले विजयी भएको थियो। सोही खेलमार्फत सावित्राले साफमा डेब्यु गरेकी थिइन्। उनले ८८औं मिनेटमा गोल गरेकी थिइन्।

त्यसको दुई वर्षपछि भारतमा भएको चौथो संस्करणको साफमा पनि नेपाल र भुटान समूहचरणमै भिडेका थिए। उक्त खेलमा सावित्रा एक्लैले ६ गोल गरेकी थिइन्। सर्मिला थापा र क्रिस्ना खत्रीले दुई गोल थपेपछि नेपालले ८–० को फराकिलो जित हात पारेको थियो। उक्त प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेकी सावित्राले १२ गोल गरेकी थिइन्। तर, नेपाल सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो।


त्यसयता नेपालले दुई संस्करणको साफ आयोजना गरेको थियो। घरेलु दर्शकको बलियो साथ पाएपनि भुटानविरुद्ध नेपालले पहिला झैं बलियो प्रदर्शन गर्न सकेको छैन। सन् २०१९ मा विराटनगरको शहिद रंगशालामा भएको साफमा नेपाल र भुटान तेस्रोपल्ट आमुन्नेसामुन्ने भएका थिए। उक्त खेलमा नेपालले ३–० को जित हासिल गरेको थियो। दशरथ रंगशालामा भएको गत संस्करणमा पनि नेपालले भुटानलाई ४–० ले हराएको थियो।

अहिलेसम्म यो टोलीसँग भिड्दा नेपालले २३ गोल गरेको थियो। तर, एक गोल पनि बेहोर्न परेको थिएन। यो रेकर्ड भने नेपाल कायम राख्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
451
सम्बन्धित

लोकप्रिय

लोकप्रिय