मोरङ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज सम्पाङले कोठामा ताल्चा लाएर विदेश भ्रमण हिडेपछि कार्यवाहक मेयरले कार्यकक्ष बाहिरबाटै सेवा दिएका छन् । कार्यवाहक जिम्मेवारी पाएका लोकेन्द्र फागोले नगर प्रमुख सचिवालयको कोठाबाट कामको सुरुवात गरेका हुन्।
असोज २८ गते बेलायत घुम्न जाने क्रममा उपमेयरलाई बाहेस गर्दै वडाध्यक्षलाई कार्यभार सुम्पिएर विवादमा तानिएका उपमहानगरपालिकाका प्रमुख साम्पाङले वडा नम्बर ११ का अध्यक्ष फागोलाई जिम्मेवारी दिएका थिए ।
यद्यपि, साम्पाङले आफ्नो कार्यकक्षमा तालाबन्दी गरेर हिँडेपछि फागोले अन्यत्र कोठामा बसेर कामलाई अघि बढाउन थालेका हुन्।
नगर प्रमुख साम्पाङको सचिवालय र आगन्तुक बस्ने सचिवालयको कोठामा बस्दै आएको कार्यवाहक फागोले कायवाहकको जिम्मेवारी नगरप्रमुखको कार्यकक्ष कुर्नका लागि मात्र दिएजस्तो भएको बताएका छन् ।
हाल कार्यवाहक फागो बस्दै आएको कोठाबाट नगरप्रमुखको कोठा पस्ने ढोकामा ताला लगाइएको र ढोका छेक्न सोफासेटसमेत राखिएको छ।