दशैँमा मासु कति खाने, कस्तो खाने ?

काठमाडौं। नेपालमा हर्षोल्लासका साथ मनाइने बडादशैँ राम्रो लगाउने र मीठो खाने पर्वका रुपमा लिइन्छ । यो पर्वमा सम्पन्नशाली वर्गले मात्र नभई न्यून आय भएका हरकोहीले दुःख गरेरै भएपनि मिठो मसिनो खानका लागि जोहो गर्छन् । चाडबाड भन्ने बित्तिकै हाम्रो पहिलो ध्यान मिठो खानेकुरामा नै जान्छ । अझ सबैभन्दा ठूलो पर्व बडादशैँमा खानेकुराको महत्व नहुने कुरै भएन ।

दशैँमा अरु खानेकुरा भन्दा मासुको प्रयोग बढी हुन्छ । अर्थात् दशैँमा विभिन्न परिकार बनाएर सबैभन्दा धेरै खाइने चिज भनेकै मासु हो । तर चिकित्सकहरूका अनुसार मासुको सेवनमा होसियारी नअपनाउने हो भने हाम्रो स्वास्थ्यमा गम्भीर असरसमेत पर्न सक्छ ।

सीमितता अपनाएर सही ढंगले मासुको प्रयोग गरिएको खण्डमा भने समग्र मानवस्वास्थ्यलाई फाइदा नै पुग्ने विज्ञहरू बताउँछन् । मासु तथा मासुजन्य चिज प्रोटिनका लागि हाम्रो स्वास्थ्यलाई आवश्यक हुने पोषणविद् नानीशोभा शाक्य बताउँछिन् । ‘मासु तथा मासुजन्य पदार्थ प्रोटिनका लागि हाम्रो स्वास्थ्यलाई चाहिन्छ । शरीमा तन्तु, कोशिका, एन्टीबडीहरू बन्नका लागि प्रोटिन नभई नहुने कुरा हो’, उनी भन्छिन्, ‘त्यसकारण सही ढ‍ंगले ठिक मात्रामा खाइयो भने शरीलाई मासुले फाइदा नै पुर्‍याउँछ ।’

दशैँमा धेरै मांसाहारीहरूले मासुका विभिन्न परिकार बनाएर खाने गर्छन् । फरक–फरक स्वाद लिने सुरमा मासुको मात्रा बढ्छ । त्यसकारण सीमित परिकार बनाएर मासुको प्रयोग गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

कस्ता मासुले स्वास्थ्यलाई पुर्‍याउँछ हानी ?
विज्ञहरूका अनुसार मासु खाँदा धेरै कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । त्यो नभएको खण्डमा स्वास्थ्यमा गम्भीर असरसमेत पर्न सक्ने पोषणविद् शाक्य बताउँछिन् । उनका अनुसार स्वास्थ्यका लागि बोसोसहितको मासु सबैभन्दा हानिकारक हुन्छ । मासु जस्तोसुकै वा जुनै पार्टको भएनि बेसी खाइएको अवस्थामा पनि यसले हानी पुर्‍याउने उनको भनाइ छ ।

‘हामीले मासु खाँदैगर्दा याद गर्नुपर्ने के भने बोसो भएका मासुले हाम्रो स्वास्थ्यलाई सबैभन्दा धेरै हानी पुर्‍याउँछ । यो कुरा सबै मांसाहारीले बुझ्नुपर्‍यो’, पोषणविद् शाक्य भन्छिन्, ‘दशैँमा मासु काटेर अथवा पकाएर धेरै दिनसम्म फ्रिज अथवा यतिकै भण्डारण गरेर राख्ने अनि पछि तताएर खाने गरिन्छ, जसकारण ब्याक्टेरियाहरू बढ्ने हुन्छ । जसले स्वास्थ्यलाई राम्रो गर्दैन । त्यसकारण बोसोजन्य मासु अभोइड गर्ने, पकाउँदाखेरी पनि एक्दमै चिल्लो, मसलाहरू धेरै हालेर पकाइन्छ । त्यसलाई पनि कम गर्नुपर्‍यो । खाँदाखेरी फ्रेस मासु तर थोरै खानु लाभदायक हुन्छ ।’

रोता मासु पनि स्वास्थ्यका लागि लाभदायक हुन नसक्ने बताइन्छ । तर सबैको सन्दर्भमा भने त्यो लागू नहुने पोषणविद् शाक्य बताउँछिन् । ‘रातो मासु खानै नहुने भन्ने होइन’, उनले भनिन्, ‘सबै मान्छेलाई एउटै समस्या हुँदैन । कसैलाई मुटुसम्बन्धी समस्या छ, कोलेस्टोरहरू बढ्ने समस्या छ भने त्यसता व्यक्तिले चाहिँ रातो मासु खानु हुँदैन । खाएपनि थोरै मात्रमा खानुपर्‍यो ।’

रातो मासु छान्दा बोसोरहित, छालारहित हुनुपर्ने उनको सुझाव छ । जुनसुकै पंक्षी तथा जनावरको मासु खाँदा पनि छालालाई पनि ‘अभोइड’ गर्नुपर्ने पोषणविद् शाक्य बताउँछिन् । ‘जस्तो कुखुराको मासु खाँदा पनि छाला नहाल्ने, खसी, राँगा, बंगुर जेको भएपनि छालाबिनाको मासु खाको राम्रो’, उनको भनाइ छ, ‘छालाबाट चाहिँ अरु धेरै कुराहरू जस्तो, छालामा बाहिरको कुरा पनि प्रोटेक्सन हुने हुँदा छालामा चाहिँ व्याक्टेरियादेखि लिएर धेरै हानी पुर्‍याउन सक्ने हुन्छ । छालासँगै बोसो पनि धेरै टाँसिएको हुन्छ । त्यसकारण नखाँदा राम्रो । तर खानैपरे पनि राम्रोसँग पकाएर मात्र खाने गर्नुपर्छ ।’

हेम्याटोलोजिस्ट डा.नीरजकुमार सिंह बोसोयुक्त मासुले रगतलाईसमेत दुषित पार्न भूमिका खेल्ने बताउँछन् । ‘हामीले धेरै बोसो भएका मासु तथा अन्य चिल्लो धेरै भएका खानेकुरा खानु हुँदैन’, उनी भन्छन्, ‘आगोमा पोलिएका मासु अझ हानिकारक हुन्छ । जसले ब्लडलाई राम्रो गर्दैन ।’

तर सही तरिकाले सीमित मासु सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक नै हुने डा। सिंह बताउँछन् । उनका अनुसार शरीरमा रगत ठिक ढंगले उत्पादन भइराख्न भिटामिट बी१२ को आवश्यकता पर्छ, जुन मासुजन्य खानेकुराबाट मात्र पाउन सकिन्छ । उनी भन्छन्, ‘भिटामिन बी१२ हाम्रो शरीरलाई अत्यावश्यक भिटामिन हो । खासगरी ठिक ढंगले रगत उत्पादन भइराख्नलाई यो आवश्यक पर्छ । तर यो भेजिटेवल सोर्सबाट आउँदैन । ननभेजिटेवल सोर्सबाट मात्र आउने हो । त्यसैले सीमित मात्रामा बोसोरहित मासुको सेवन स्वास्थका लागि लाभदायक नै हुन्छ ।’

अन्य मासुभन्दा माछा स्वास्थ्यका लागि राम्रो हुन्छ ?
अन्य जनावरकोभन्दा माछा स्वास्थ्यका लागि धेरै राम्रो भन्ने प्रचलन पनि छ । तर अहिले यसको आयात तथा भण्डारणका कारण माछा पनि हानिकारक नै हुने पोषणविद् शाक्य बताउँछिन् । ‘माछा हेल्थको लागि राम्रो मानिएपनि जुन हिसाबले आयात गरेर ल्याइएको हुन्छ, त्यो स्वास्थ्यका लागि हानिकारक नै हुन्छ’, उनी भन्छिन्, ‘भण्डारण गरेर, प्याकिङ गरेर फ्रोजन माछाहरू लिएर आइन्छ नि मर्क्यूरी कन्टामिनेसन जस्तो हुने भाकोले माछा पनि राम्रै मात्र हुन्छ भन्न सकिन्न । मर्क्यूरी कन्टेनिङ धेरै भाको माछा खाँदा खेरी पनि हामीलाई हानी नै पुर्‍याउँछ ।’

माछा मात्र नभई प्याकिङ गरेर भण्डारण गरिएको कुनै पनि मासु स्वास्थ्यका लागि हानिकारक हुने पोषणविद् शाक्य बताउँछिन् । ‘आजकाल धेरै ह्याम र ससेजहरू खाने चलन छ । दशैँमै पनि कतिले ससेज ल्याएर पकाएर, फ्राइ गरेर खाने गर्छन्’, उनी भन्छिन्, ‘त्यो चाहिँ हामीले दैनिक राँगा, कुखुराको वा खसी खानुभन्दा बढी हानिकारक हुन्छ । यो कुरा बिर्सनु हुँदैन ।’

स्वाद तथा रमाइलोका नाममा स्वास्थ्यको ख्याल गर्न बिर्सन नहुने सुझाव शाक्यको छ । दशैँमा मासु खाँदै गर्दा पनि अन्य तरकारी तथा फलफूल पनि खानुपर्नेमा उनी जोड दिन्छिन् ।

शुद्ध शाकाहारीका लागि के हुन सक्छ मासुको विकल्प ?
शुद्ध शाकाहारीहरूका लागि प्रोटिनको मात्रा कहाँबाट पुर्‍याउने भन्ने चिन्ता सधैँ रहिरहन्छ । पोषणविद् शाक्य शाकाहारीका लागि विभिन्न परिकारका दाल तथा गेडागुडी मासुको विकल्पमा खान सकिने बताउँछिन् ।

‘शाकाहारीका लागि दाल तथा गेडागुडी मासुको विकल्प हुन सक्छन् । दाल–गेडागुडीबाट पनि धेरै परिकार बन्न सक्छ’, उनी भन्छिन्, ‘दूधबाट बन्ने परिकारहरू पनि नियमित सेवन गरे यसबाट पनि मासुबाट पाइने भिटामिनहरू परिपूर्ति हुन सक्छ । जस्तो दूध, दही, पनिर माछा मासु नखानेहरूलाई प्रोटिनको स्रोत हो ।’

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय