अनैतिक सम्बन्धले राजेशको हत्या, मध्यरातमा मुनालाई भेट्न गएको खुलासा

बिर्तामोड । बाह्रदशी– ७ की २० वर्षीया मुना मेचे राजवंशीसँगको अनैतिक सम्बन्धका कारण २२ वर्षीय राजेश हजामको हत्या भएको खुलेको छ ।


श्रीमान् अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि मुना पाँच वर्षका सन्तानसहित घरमा एक्लै बस्दै आएकी थिइन् । मध्यराति राजेश मुनाको घर गएपछि सो घटना भएको देखिन्छ । राजेश गत जेठ १५ गते राति करिव ११ः३० बजे मुनाको घरमा गएका थिए । बाह्रदशी ५ फूलवारी घर भएका राजेश करिव ३ किलोमिटर उत्तर मध्यरातमा सिमलवारीस्थित मुनाकहाँ गएको खुलेको छ ।

यसअघि सम्बन्ध बनेर बिग्रिसकेको अबस्थामा राजेश मुनाको घरमा गएपछि उनले आफ्ना देवर गणेश राजवंशीलाई आफ्नो घरमा चोर पसेको भन्दै खबर गरेकी थिइन् । मुनाको भन्दा अलिक टाढा घर भएका गणेश मुनाको घरमा आइसकेर दुवैले राजेशलाई डोरीले बाँधेका थिए । एक प्रहरी अधिकारीका अनुसार त्यतिबेलै आइपुगेका मुनाका भतिज १६ वर्षीय नरेश राजवंशीले आफूले प्रहरी बोलाएर राजेशलाई जिम्मा दिन सल्लाह दिएको कुरा बयानमा बताएका छन् । तर,आवेशमा आएर उनीहरुले राजेशको हत्या गरे । मुनाले विहे गर्नुभन्दा अगाडिदेखि राजेशसँग सम्बन्ध रहेको बताइन्छ । अभय राजवंशीसँगको भागी बिहेपछि त्यो सम्बन्ध टुटेको थियो । श्रीमान अभय विदेश गइसकेपछि अविवाहित देवर गणेश राजवंशीसँग उनको सम्बन्ध शुरुवात भएको अवस्थामा राजेशले पुनः इन्ट्री गर्न खोज्दा सो घटना भएको ती प्रहरी अधिकारी बताउँछन् । यद्यपि घटनाबारे अझै विस्तृत अनुसन्धान भइरहेको उनको भनाई छ ।


गणेश पक्राउ परेपछि मात्र सबै कुरा खुल्नसक्ने ती प्रहरी अधिकारीले बताए । प्रहरीले मुना ,मुनाका जेठाजु ३१ वर्षीय समीर राजवंशी, मुनाका भतिज १६ वर्षीय नरेश राजवंशी र सोही ठाउँ बस्ने २१ वर्षीय आशिष थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । आशिष गणेशका साथी हुन् । उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । दुबईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

करिब चार महिनाअघि हत्या गरी गाडेको अवस्थामा राजेशको शव आइतबार साँझ बिरिङको बगरमा भेटिएको थियो । गन्हाएको अवस्थामा उनको शव बिरिङ खोलाको बगरबाट उत्खनन् गरी निकालिएको डीएसपी विष्टले बताए । खोलाको पश्चिम किनारमा गाडिएको अवस्थामा टाउकोको हड्डी, खुट्टाको नली हड्डी, शरीरको अस्थिपञ्जर मात्र बाँकी रहेको सडिगलेको अवस्थामा शव फेला परेको थियो ।

मृतकको कंकाल बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
350
सम्बन्धित

लोकप्रिय

लोकप्रिय