दुई दिनसम्म खन्दा पनि प्रहरीले भेटेन २१ बर्षीय ठाकुरको शव

बिर्तामोड । झापा बाह्रदशी–५ का राजेश ठाकुरको हत्यापछि उनको शव पुरेको घटनाका बारेमा प्रहरीले गहिरो अनुसन्धान थालेको बताएपनि प्रमाण फेला पार्न सकिरहेको छैन ।


आरोपितहरुको घर आँगनदेखि खोलाको बगरसम्म उत्खनन् गर्दासमेत हत्या भएको भनिएका बाह्रदशी– ५ फूलवारीका अन्दाजी २१ वर्षका ठाकुरको शव फेला पार्न नसकेको हो । प्रहरीले बिहीवार दिउँसोदेखि आरोपित राजवंशीको घर र आँगन उत्खनन् गरेको थियो । बिहीवार राति १० बजेसम्म उत्खनन् गर्दा केही सामान फेला परेपनि शव फेला पार्न सकेन । शुक्रवार बिहानदेखि पुनः राजवंशीको घर आँगन खनिएको थियो । त्यहाँ नभेटेपछि दिउँसो बिरिङ खोलाको बगर पनि खनिएको थियो । तर,त्यहाँ पनि शव नभेटिएको प्रहरीले जनाएको छ । राजवंशीको घर आँगनमा ठाकुरको शव नभेटिएपछि एकजना व्यक्तिले बिरिङ खोलाको बगरमा गाडेको हुनसक्ने बताएपछि प्रहरी टोली बगरतिर मोडिएको थियो ।

ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । चार महिना अघिदेखि बेपत्ता भएका ठाकुरलाई हत्या गरेर घरभित्र गाडेको आशंकामा प्रहरीले बिहीवारदेखि उत्खनन् शुरु गरेको थियो । छिमेकी गणेश राजवंशी र उनकी भाउजु मुना मेचे राजवंशीले हत्या गरेर आफ्नो घर आँगनमा शव गाडेको आशंकामा प्रहरीले बिहीवार दिउँसोदेखि उत्खनन् गरेको हो । तर, रातिसम्म ठाकुरको शव फेला परेन । आफ्नी आमा मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको कुरा मुनाका छोरा नरेशले बताएपछि प्रहरीले उत्खनन् थालेको हो । राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेको बताइएको छ ।


घटनामा संलग्न भएको भनिएका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएको आशंका गरिएको छ । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् । काकी मुना र भतिज नरेशलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । उत्खनन्का क्रममा मृतक राजेशले लगाएको लुगा, नुनको प्लास्टिकको खोलहरु र एउटा दाउ भेटिएको बताइएको छ ।

प्रहरीले राजवंशीको घर आँगन सिल गरेको छ । जथाभावी उत्खनन् गर्नुभन्दा अनुसन्धान गरेर उत्खनन् गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।‘घटना के हो भनेर क्लियर भइसकेको छैन’ उनले भने,‘ घटनाको कडी पत्ता लगाउने प्रयास गरिरहेका छौ ।’

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
290
सम्बन्धित

लोकप्रिय

लोकप्रिय