बाढीपहिरोबाट १७ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो ।


बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार १७ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण संकलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ । सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ ।

कुलेखानी जलाशयको पानी खोल्दा गएको बाढी र पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीमा अध्ययनरत छ जना विद्यार्थीको कलिलै उमेरमा ज्यान गुमाउन बाध्य भए ।


पहिराले पुरिँदा मकवानपुरका तीन र अन्य जिल्लाका तीन गरी बालकले ज्यान गुमाए । बाढीका कारण सबैभन्दा बढी समस्यामा विपी राजमार्ग परेको छ । रोशी खोला किनारका बस्ती क्षतविक्षत भएको छ । हालसम्मको विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा मात्रै दुई अर्ब ५२ करोड बराबरको क्षति भएको छ । बाढीले पाँच वटा पक्की पुल र दुई वटा बेलिब्रिजमा क्षति पुगेको छ ।

पछिल्लो पटकको बाढीपहिरोमा परी हालसम्म दुई सय २४ जनाको निधन भएको छ भने २४ जना बेपत्ता छन् । एक सय ५८ जना घाइते छन् । उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको मुख्यसचिव अर्यालको भनाइ छ । कृषि क्षेत्रमा करिब छ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक छ ।

कूल ५८ हजार चार सय ७६ हेक्टरमा लगाइएको तीन अर्ब ५० करोड बराबर धानबालीमा क्षति पुगेको छ । किसानका २६ हजार दुई सय पाँच वटा पशुपन्छीमा क्षति पुगेको छ । भौतिक क्षतितर्फ खानेपानी संरचनामा तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा दुई अर्ब ५२ करोड, ऊर्जातर्फ चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ एक अर्ब ३५ करोड बराबरको क्षति भएको छ ।

बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवद्ध भएकामा नौ वटा सञ्चालन आइसकेका छन् । त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सडक विभागअन्तर्गतका झण्डै २२ किलोमिटर सडक पूर्ण पमा क्षति भएको छ ।

त्यसमा सडकतर्फ एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ ८२ करोड र बेलीब्रिजतर्फ २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण छ । सो मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढीपहिरोका कारण क्षति पुगेको छ । बाढीपहिरोका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ ।

सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङ्गटारको पुल पूर्णरूपमा क्षति पुगेको छ । अरनिको राजमार्गअन्तर्गत लिपिङ पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायात सञ्चालनमा असुविधा उत्पन्न भएको छ । लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङटारको पुल पूर्णरूपमा क्षति भएको विवरण छ ।

अरनिको राजमार्गअन्तरगत लिपिङ्ग पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाएको छ । यस्तै लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज समेत बाढीले बगाएको छ । ऊर्जा र जलस्रोततर्फ समग्रमा चार अर्ब ३५ करोड बराबरको क्षति भएको छ ।

नदी नियन्त्रणका लागि बनाइका तटबन्धमा करिब एक अर्ब १६ करोड २० लाख बराबरको क्षति पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका पमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माणाधिन ‘कफर ड्याम’ पानीमुनी परेको छ ।  त्यसमा के कति क्षति भयो भन्ने कुराको मूल्यांकन भइरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले जानकारी दिए ।

यस्तै, खानेपानी आयोजनामा तीन अर्ब ५५ करोड ७० लाख बराबरको क्षति पुगेको छ । नेपाल खानेपानी निगम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालयअन्तर्गत साना–ठूला आयोजनामा बाढीले समस्या पैदा गरेको छ । काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका खानेपानी आयोजनामा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
273
सम्बन्धित

लोकप्रिय

लोकप्रिय