सुखानी सामुदायिक वनको २७औं वार्षिक साधारणसभा सम्पन्न

सुखानी । सुखानी सामुदायिक वन उपभोक्ता समूहको २७औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । झापाको अर्जुनधारा–३ र इलामको माई–४ नम्बर वडाको भुगोललाई समेटेर बनेको सुखानी सामुदायिक वनको सुखानी पर्यटकीय क्षेत्रमा भएको २७औं सभाको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्नुभएको थियो ।


साधारणसभाकै अवसर पारेर सुखानी पर्यटकीय क्षेत्रमा निर्माण गरिएको प्रवेशद्वारको समेत उद्घाटन गरिएको थियो । प्रमुख अतिथि गोम्देनले रिबन काटेर प्रवेशद्वारको उद्घाटन गर्नुभएको हो ।


सभामा समुहका अध्यक्ष मंगलसिंह लिम्बूले समूहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा समितिका संयोजक धनबहादुर तामाङले महालेखा परिक्षणको प्रतिवेदन, कार्यालय सचिव खगेन्द्र भट्टराईले चालु आर्थिक वर्ष ०८१/०८२को बजेट, वार्षिक नीति तथा कार्यक्रम र सल्लाहकार समितिका संयोजक ओमप्रकाश सिटौलाले विधान मस्यौदा सुझाव प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा वनले चालु आ.व.मा संचालन गर्ने प्रस्तावीत योजनाहरु प्रस्तुत गरिएको थियो । उपभोक्ताहरुमा वन पैदावार वितरण प्रकृयालाई आधुनिक प्रविधि मैत्री बनाउन आवस्यक प्रकृयाहरु अवलम्बन गरिने, पर्यटन परिसरमा विधुत, खानेपानी र सौचालयको सहजताको लागि थप कार्यक्रमहरु गरिन, पर्यटन क्षेत्रमा व्यवस्थित वनभोज स्थल निर्माण गरिने, पर्यापर्यटनको स्तर उन्नति गरि स्थानिय स्तरमा रोजगारीको स्थिति श्रृजना गरिने, बन विकाश र गरिवी न्युनिकरणका नयाँ कार्यक्रमहरु भित्रयाउन ठोस कदम चालिने लगायतका महत्वपूर्ण भावी योजना प्रस्तुत गरिएको थियो ।

त्यस्तै माछा पालनलाई थप आकर्षक र व्यावसायिक बनाउने, समुहको टपरा उद्योगलाई इच्छुक उपभोक्तालाई जिम्मा दिई आत्मनिर्भर बन्ने र बनाउने कार्यमा सहयोग पुर्याउने, पर्यटन क्षेत्रमा रहेको पर्यापर्यटन कार्यालयमा संचालित कृयाकलाप गर्न गराउन भवनका कोठाहरु पर्याप्त नभएकोले उक्त भवनलाई तला थपगरि कार्यालयलाई व्यवस्थित गरिने, खाजा घरलाई व्यवस्थित तरिका बाट संचालन गरिने, समुहको सिमल पोखरी बाट जडीबुटी अवलोकन स्थल सम्म पैदलमार्ग जोड्नको लागि झोलुङ्गे पुल निर्माण गरि पर्यटनलाई थप आकर्षक बनाउन पहल गरिने, सुखानीको ईतिहासलाई कायम राख्नको लागि किम्बन्तिमा रहेको लुकानी र आना भुँडी नामलाई सार्थक तुल्याउन आवस्यक संरचनाहरु निर्माणमा जोड दिने लगायतका योजना सामुदायिक वनले सभा समक्ष पेश गरेको हो ।

त्यस्तै गत आर्थिक वर्षमा ९७ लाख दुई हजार पाँच सय ३० रुपैयाँ ४३ पैसा बराबरको आर्थिक कारोबार गरेको समूहले चालु आर्थिक वर्षका लागि अनुमानित ६४ लाख ७७ हजार छ सय ७९ रुपैया ८२ पैसा बराबरको बजेट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रस्तुत गरिएको बजेटमध्ये वन विकासतर्फ २३ लाख पाँच हजार ९७ रुपैयाँ, गरिबी न्यूनिकरणतर्फ २२ लाख ६९ हजार नौ सय रुपैयाँ, प्रशासनिक खर्चतर्फ नौ लाख १२ हजार रुपैयाँ, पर्यापर्यटन विकासतर्फ छ लाख रुपैयाँ, सामाजिक विकासतर्फ तीन लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ ।

कार्यक्रममा सुखानी पर्यटन क्षेत्रमा आमाबुबा कृष्णकुमारी र खड्गबहादुर राईको स्मृतिमा फलामको चौतारो निर्माण गर्ने दाता अर्जुनधारा–३ निवासी राजकुमारी राई लिम्बू र समूहलाई ५० हजार रुपैयाँ बराबरको ५५ थान प्लाष्टिक कुर्सी, टेबल र त्रिपाल सहयोग प्रदान गर्ने दाता हाल अमेरिकामा रहेका माई–४स्थित दाहालटार निवासी गोपाल र सरिता पौडेललाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो । त्यस्तै विपन्न २७ परिवारलाई एलपी ग्यास चुल्हा सेट र १५ जना ज्येष्ठ उपभोक्तालाई ढाका टोपी र दोसल्ला ओढाई सम्मानित गरिएको बताइएको छ । 

समूहका पर्यटन उपाध्यक्ष विपिन चौहनले स्वागत गर्नुभएको उक्त सभाको सञ्चालन कार्यालय सचिव भट्टराईले गर्नुभएको थियो । सभामा माई–४का वडाध्यक्ष हेम लायो मगर, डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत राजकुमार श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)अर्जुनधारा–३का अध्यक्ष याम मगर, राप्रपाका प्रतिनिधि इन्द्रबहादुर बुढाथोकीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय