जुकेखाडी सामुदायिक वनको बजेट २ करोड ७८ लाख, सोलार बत्ति जडान गर्नेदेखि हाती आहालसम्मका योजना

तिलक योञ्जन, खुदुनाबारी । जुकेखाडी सामुदायिक वनको २९ औं साधारण सभा सम्पन्न भएको छ । समुहको कार्यालय परिसरमा आयोजित साधारणसभामा सामुदायिक वनले चालु आर्थिक वर्षका लागि विभिन्न महत्वपूर्ण योजनाहरु प्रस्तुत गरेको छ ।


गत आर्थिक वर्षमा १ करोड एक लाख १४ हजार एक सय २७ रुपैयाँ ३७ पैसा बराबरको आर्थिक कारोबार गरेको समूहले चालु आर्थिक वर्षका लागि अनुमानित २ करोड ७८ लाख २७ हजार चार सय ४९ रुपैयँँ ६७ पैसा बराबरको बजेट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनका अध्यक्ष मोहन श्रेष्ठले चालु आर्थिक वर्षमा मानव, वन्यजन्तु द्वन्द न्यूनीकरणको लागी फलफुलका विरुवा वृक्षारोपण कार्यलाई निरन्तरता दिई १० हजार विरुवा वृक्षारोपण गर्ने लक्ष्य राखिएको बताउनुभयो । हाती आहाल, अन्य वन्यजन्तु तथा चराचुरुङ्गीलाई पिउने पानि सुनिश्चित्ताको लागि डिभिजन बन कार्यालय झापासंग साझेदारी गर्ने, वन खण्ड १ मा हात्ती आहाल पोखरी निर्माण गर्ने, मानव, वन्यजन्तु द्वन्द न्यूनीकरण र चोरी–तस्करी नियन्त्रणको लागि वन र आवादी क्षेत्रको सिमानामा सोलार बत्ति जडान गरि ‘उज्यालो अभियान’को थालनी गर्ने, समग्र कैदले पर्यापर्यटन विकासको लागि डि.पी.आर. निर्माण गरि संघ, प्रदेश तथा स्थानिय सरकार र विविन्न निकायहरु समक्ष प्रस्ताव पेश गरि विकासलाई निरन्तरता दिने योजना अध्यक्ष श्रेष्ठले सभामा पेश गर्नुभएको हो ।


त्यस्तै मौरी पालन तालिम प्रदान गर्ने र घार–मौरी वितरण गर्ने, गरिव तथा विपन्न घर परीवारको लागि स्वास्थ्य विमा कार्यक्रमको थालनी गर्ने, विपन्न विद्यार्थीहरुको पहिचान गरि छात्रवृत्तिको कार्यक्रम लागु गर्ने लगायतका योजना सभामा पेश भएको थियो ।

त्यस्तै विपन्न ७७ घरधुरी उपभोक्तालाई एल.पी. ग्यास र चुलो वितरण गर्ने, वायो ग्यास निर्माण अनुदानलाई निरन्तरता दिने, पशु उपहार कार्यक्रम अघि बढाउने, महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत ढाका बुनाई, प्रांगारिक मल उत्पादन, दैनिक उपोभोग्य सामग्री उत्पदान आदि तालिमको व्यवस्था गरि आवश्यक उपकरणहरु उपलब्ध गराई आत्मनिर्भर बन्न प्रेरित गर्ने लगायतका योजना सामुदायिक वनले बनाएको छ ।

त्यस्तै लागु औषध विरुद्ध सचेतनामुलक कार्यक्रम र खेलकुद विकासको लागि सम्बन्धित निकायसंग समन्वय गरि खेल क्षेत्रलाई अघि बढाउन भूमिका निर्वाह गर्ने, ज्येष्ठ नागरिक सम्मानमा कार्यालय परिसरमा ज्येष्ठ नागरिक भेटघाट चौतारी निर्माण गर्ने लगायतका लक्ष्यीत योजनाहरु अध्यक्ष श्रेष्ठले सभामा पेश गर्नुभएको थियो ।

अध्यक्ष श्रेष्ठका अनुसार वन समुहले यो अ.व.मा ९५८४.३० क्यु फिट गोलिया काठ र १८७५ क्विन्टल दाउरा संकलन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै समूहले गत आर्थिक वर्षमा वन पैदावार बिक्री वितरणमा आंशिक सुधार गरि न्यायोचित वितरण प्रणाली अपनाएको, समूह अन्र्तगत रहेको कैदले पर्यापर्यटन क्षेत्रमा ‘रोज गार्डेन’ तथा संरक्षण कार्यलाई निरन्तरतासँगै बगैंचा निर्माण, ग्रीनरी सभाहल तथा फलफूल बगैंचा घेराबारा निर्माण, कार्यालय तथा घाटगद्धी परिसरमा ६ वटा सीसी क्यामेरा जडान, विपन्न ३१ परिवारलाई न्यानो कम्बल तथा पाँच परिवारलाई खाट वितरण, समूह अन्र्तगत प्रत्येक क्षेत्रका एक विपन्न परिवारको घरको छानो सुधार कार्यक्रम कार्यान्वयन, मानव–वन्यजन्तु द्वन्द न्यूनिकरणका लागि फलफूलका बिरुवा रोपण अभियानको सुरुवात गरि पाँच हजार बिरुवा रोपिएको, बिर्तामोडस्थित स्पाइनेक्स सुपरस्पेस्यिालिटी अस्पताल र अर्जुनधारा–७ स्थित शंकर अस्पतालसँग उपभोक्ताहरुको स्वास्थ्य उपचारमा क्रमश २५ प्रतिशत र २० प्रतिशत छुट गर्ने सम्झौतालगायतका कार्यहरु गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समूहका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा आयोजित भेलाको प्रमुख अतिथि अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराईले उद्घाटन गर्नुभएको थियो । समूहका उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले स्वागत गर्नुभएका कार्यक्रमको सञ्चालन सचिव उर्मिला अधिकारी कटुवालले गर्नुभएको थियो ।

भेलामा आन्तरिक लेखा समितिका संयोजक कमलबहादुर बुढाथोकीले आन्तरिक लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष मनिला जवेगु लिम्बूले चालु आर्थिक वर्ष ०८१/०८२ को बजेट, वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने सहसचिव तथा अनुगमन समिति संयोजक सोमनाथ चापागाईंले वन पैदावर अनुगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै समुहको विधान संसोधन समितिका संयोजक जीवकुमार भण्डारीले विधान संसोधित बुदाँहरु प्रस्तुत गर्नुभएको थियो ।

भेलामा समूहका पूर्व सदस्यद्वय अर्जुन शाह र वसुदा घिमिरेलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । सोही भेलामा विपन्न उपभोक्ता गरिबी न्यूनिकरण कार्यक्रम अन्तर्गत ३१ परिवारलाई चुल्हासहित एलपी ग्यास वितरण गरिएको थियो । त्यस्तै वन समुहले ३१ परिवारको स्वास्थ्य बीमा गरिदिएको थियो भने पाँच विपन्न परिवारलाई खाट वितरण गरिएको समूहका उपाअध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले जानकारी दिनुभयो ।

भेलामा प्रमुख अतिथि भट्टराई, अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, अर्जुनधारा–३का निवर्तमान वडाध्यक्ष जीवकुमार भण्डारी, अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठ, समूहका पूर्व अध्यक्ष दिव्यप्रसाद कट्टेल, नेकपा एमाले वडा कमिटीका अध्यक्ष युवराज चापागाईं, नेपाली काँग्रेस वडा समितिका सभापति धुव्र खाती, नेकपा(माओवादी केन्द्र) वडा कमिटीका अध्यक्ष याम मगर, नेकपा(एकीकृत समाजवादी) वडा कमिटीकी उपाध्यक्ष सीता भट्टराईलगायतले मन्तव्य राख्नुभएको थियो ।

हेर्नुस् भिडियो रिर्पोट : 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
537
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय