दसैँ मनाउन काठमाडौँ आउँदै गरेका जुद्धबहादुरसहित बुहारी र नाति झ्याप्लेखोलामै अस्ताए

काठमाडौं । गुल्मीको गुल्मीदरबार गाउँपालिका–७, लामडाँडाका जुद्धबहादुर रायमाझीको परिवार यो वर्ष पहिलोपटक काठमाडौँमा दसैँ मनाउने तयारीमा थियो।


रोजगारीको सिलसिलामा भारतमा रहेका ६३ वर्षीय जुद्धबहादुर दसैँ मनाउनैका लागि केही दिनअघि मात्रै नेपाल आएका रहेछन्। उनका दुई छोरा छन्–विवेक र विजय। उनीहरू दुवै काठमाडौँमा छन्। जेठा छोरा विवेक कीर्तिपुरमा मोटरसाइकल वर्कसप चलाउँछन्। कान्छा छोरा विजय भने जागिर गर्छन्। आफन्तका अनुसार, विवेक अनलाइन बिक्रेता कम्पनी दराजमा कार्यरत थिए।

बुटवलमा वर्कसप सञ्चालन गर्दै आएका विवेक केही महिनाअघि मात्रै काठमाडौँ छिरेका थिए। बुटवलमा सिकेको सीप लिएर काठमाडौँ आएका विवेक श्रीमती र छोरासहित कीर्तिपुरमा बस्थे। श्रीमती ३१ वर्षीया प्रमिला र छोरा ३ वर्षीय क्रिसब केही दिनअघि बुटवल हुँदै गुल्मी गएका थिए।


गुल्मीदरबार गाउँपालिका–७ का वडाध्यक्ष शालिकराम टण्डनले नेपालखबरलाई दिएको जानकारी अनुसार, नागरिकता हराएर बनाउन प्रमिला गुल्मी पुगेकी थिइन्। भारतबाट नेपाल फर्किएका ससुरा जुद्धबहादुरसहित प्रमिला काठमाडौँ फर्कने निधो गरिन्। ‘यसपटक दसैँ काठमाडौँमै मनाउने उहाँहरूको तयारी रहेछ,’ वडाध्यक्ष टण्डनले भने, ‘सोहीअनुसार उहाँहरू तीनैजना बुटवल हुँदै काठमाडौँ जानुभएको रहेछ।’

उनीहरू शनिबार बिहानै काठमाडौँका लागि बुटवलबाट हिँडेका थिए। आफन्तले दिएको जानकारी अनुसार, सोह्रश्राद्धका लागि बुवा जुद्धबहादुरले भारतबाट आउँदा पनि टिकट वर सारेर नेपाल आएका थिए। काठमाडौँमै कुनै मन्दिरमा यसपटक सोह्रश्राद्ध गर्ने तयारीका साथ शनिबार बिहान हतारहतार बुटवलबाट जुद्धबहादुर काठमाडौँका लागि हिँडेको एक आफन्तले बताए।

विडम्बना, उनीहरू काठमाडौँको प्रवेश गर्ने नाकाभन्दा अघि बढ्न सकेनन्।  जुद्धबहादुर, प्रमिला र क्रिसब काठमाडौँ र धादिङको सिमानामा पर्ने झ्याप्लेखोला पहिरोमा अस्ताए। यो ठाउँ नागढुंगानजिकै पर्छ। 

जन्म दिने बुवा, कर्म दिने श्रीमती र भविष्य दिने छोरा तीनैको पर्खाइमा बसेका विवेक यतिबेला काठमाडौँमा छट्पटाइरहेका छन्। तीनैजनाको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। हिन्दु संस्कार अनुसार तीनै जनाको फरकफरक ठाउँमा अन्त्येष्टि गरिएको विवेक र विजयका मामा विजय केसीले जानकारी दिए।

रुपक चौलागाईं चौलागाईले लेख्नुभएको यो समाचार नेपाल खबरबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
363
सम्बन्धित

लोकप्रिय

लोकप्रिय