काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशयले निरन्तरताको वर्षाका कारण ‘सतर्कता तह पार’ गरेपछि बाँधको २ वटा ढोका खोलिएको छ।
सतर्कता तह पार भएसँगै शनिबार बिहानै एउटा ढोका खोलिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए। उनका अनुसार यसबाट ४० सेमि पानी बाहिरिरहेको छ। पानीको उच्च प्रवाह भइरहेकाले बाँधका अरु ढोका पनि खोल्नुपर्ने अवस्था आएको उनले बताए।
बाँध खोलेपछि तयारी गरिँदै गर्दा बागमती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रभावित हुनसक्ने अरु जिल्लाका प्रमुख अधिकारीसँग पनि निरन्तर सम्पर्कमा रहेको चिलुवालले जानकारी दिए। कुलेखानीको गेट खोल्दा कुलेखानीको पानी सिस्नेरी खोला हुँदै बागमती नदीमा मिसिन्छ।
इन्द्रसरोवर, भिमफेदी, बागमती गाउँपालिका सहित सिन्धुलीको हरिहरपुरगढी, रौतहटको नुनथर क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
जोखिमका बााबजुत विद्युत् उत्पादनसमेत भइरहेको प्रमुख जिल्ला अधिकारी चिलुवालले जानकारी दिए। कुलेखानी जलविद्युत केन्द्र विद्युत प्राधिकरणको ‘ब्याक अप’ मानिन्छ।