अविरल वर्षाका कारण झापामा ३ दर्जन परिवार विस्थापित

झापा । केही दिनदेखिको अविरल वर्षाका कारण झापाका जनजीवन अस्तव्यस्त बनेसँगै करिब तीन दर्जन परिवार विस्थापित भएका छन् । जिल्ला विपद् कार्यालय झापाले सङ्कलन गरेको तथ्याङ्क अनुसार जिल्लामा ३१ परिवार विस्थापित भएका छन् । विस्थापित हुनेहरूमा सबैभन्दा बढी बिर्तामोडका रहेका छन् । बिर्तामोडका १८ परिवार विस्थापित भएका हुन् ।


केही दिनदेखि अविरल वर्षाका कारण अधुवा खोलामा आएको बाढीले बिर्तामोड–३ सिर्जना टोलमा पानीको बहाव पसेर ९ परिवार विस्थापित भएका छन् । सिर्जना टोल बस्ने कुलबहादुर दर्जी,अम्बिकाबहादुर दर्जी, लुकाश माझी, कृष्णबहादुर दर्जी ,नरमाया दर्जी ,अनुज माझी, प्रमीला दर्जी, पदमबहादुर दर्जी र इन्द्रराम दासको परिवार विस्थापित बनेका हुन् । घरमा पानी पसेर क्षति भएको जानकारी प्राप्त भएपछि प्रहरी चौकी बिर्ता बजारबाट टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सार्ने कार्य गरिएको बिर्तामोड प्रहरीले जनाएको छ । उनीहरूको घरभित्र रहेका अन्नपात, लत्ताकपडालगायत अन्य सरसामानहरू भिजेको डीएसपी प्रकाश विष्टले बताए ।

त्यस्तै बिर्तामोड–५ नमुना टोल र वडा नं.४ मान्डा टोल बस्ने पाँच परिवार विस्थापित भएका छन् । वडा नम्बर–५ नमुना टोल बस्ने गीता अधिकारी, सोही टोल बस्ने कृष्ण सुवेदी, शेरबहादुर अधिकारी, वडा नं.४ को मान्डा टोल बस्ने कलाम मिया र मुना मुस्ताकको परिवार विस्थापित बनेका हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।


त्यस्तै बिर्तामोड वडा नं ८ बाह्रबिघे बस्ने तीन परिवार विस्थापित भएका छन् । बाह्रबिघेका गीता भुजेल, चण्डिका दाहाल र मनमाया तामाङको परिवार विस्थापित बनेको डीएसपी विष्टले जानकारी दिए । अस्थायी प्रहरी चौकी गरामनिबाट टोली खटिएर स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । त्यस्तै बिर्तामोड–५ भुसुनेस्थित शान्तिकुमारी गुरुङको घरभित्र नजिकै रहेको कल्भर्टको पानीको बहाव पसेर घरभित्र रहेका अन्नपात,लत्ताकपडालगायत अन्य सामानहरू भिजेकाले प्रहरी र स्थानीयको सहयोगमा छिमेकीको घरमा लगेर राखिएको छ । गाई गोठमा समेत पानी पसेपछि गाईबाख्राहरु सुरक्षित स्थानमा राखिएको जनाइएको छ ।

त्यस्तै कनकाई नगरपालिका वडा नम्बर ३ झर्ना बस्तीमा सन्का खोला र सुरुङ्गा खोलाको पानीको बहाव पसेर ११ परिवार विस्थापित भएका छन् । कनकाई नगरपालिका वडा नं ३ झर्ना बस्ती बस्ने सनम गुरुङ,अनीश मगर ,सुशीला हस्दा, बलबहादुर लिम्बू , कमल टुडू , बुद्धिलाल टुडू , मिना सोरेन, राजकुमार टुडू ,सुनिराम हस्दा , बिसु मर्डी र पहलमान तामाङको परिवार विस्थापित बनेका हुन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै कनकाई नदीले कटान सुरु गर्दा दुई परिवार विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका– १० बस्ने अमर ऋषिदेव र किरण ऋषिदेवको परिवार विस्थापित बनेका हुन् । शिवसताक्षी – १० बिहानी टोलको पश्चिमतर्फबाट कनकाई खोलाले कटान सुरु गरेको हो । उक्त टोलको १५ घरमध्ये ती दुई वटा घर अति जोखिममा परेपछि शिवसताक्षी नगरपालिका १० नम्बर वडा कार्यालयको समन्वयमा मुक्ति घाटको भवनमा स्थानान्तरण गरिएको हो ।

त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं ७ को होली टोलका अन्दाजी २०–२२ घरमा सताक्षी खोलाको पानी पसेर डुबान भएको छ । घरमा सामान्य पानी पसेको र तत्काल क्षति गर्ने सम्भावना नरहेकोले उनीहरूलाई स्थानान्तरण नगरिएको जिल्ला विपद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
327
सम्बन्धित

लोकप्रिय

लोकप्रिय