आर्थिक अपचलनको आरोपमा इन्स्पेक्टर शाहीलाई निलम्बन गर्न पत्राचार

काठमाडौं । बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी हिरासतमा राखेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको घटनामा मिलेमतोको आशंकामा ललितपुरको प्रहरी प्रभाग बुङमती (भैँसेपाटी)की इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार भएको छ । प्रारम्भिक छानबिनमै उनले आपराधिक समूहलाई सहयोग गरेको भेटिएपछि प्रहरी प्रधान कार्यालयले निलम्बन प्रक्रिया अघि बढाएको थियो ।


जिल्ला प्रहरी परिसर, ललितपुरले इन्स्पेक्टर शाहीलाई निलम्बनका लागि पत्राचार गरी छानबिन समिति गठन गरेको छ । डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति बनेको परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । गत ७ असोजमा शान्ति सुरक्षासम्बन्धी विषयमा भन्दै प्रभागमा मोरङ घर भई ललितपुरको इमाडोल बस्ने एक व्यापारीलाई थुनामा राखिएको थियो । साउनको पहिलो साता इटहरीमा चिनजान भएकी एक युवतीले शान्ति सुरक्षासम्बन्धी उजुरी गरेकी थिइन् । त्यही विषयमा थुनामा राखेर प्रहरी कार्यालयभित्रै बार्गेनिङ सुरु भएको थियो । सुरुमा ६० लाख मागिएकोमा ३० लाख दिइएको खुलेको छ ।

सोही दिन उनले सात लाख रुपैयाँ बुझाएका थिए । भोलिपल्ट गाडी बेचेर उनले थप १३ लाख बैंक खातामा हाली १० लाख रुपैयाँको चेक काटिएको थियो । २० लाख रुपैयाँ इटहरीकै एक युवतीको नाममा जम्मा भएको छ । ती युवती प्रहरीको मान्छे हो कि उजुरी दिने पक्षको भन्ने खुलेको छैन । साथै, इटहरीका मान्छे भैँसेपाटी आएर उजुरी दिएर ती व्यापारीलाई पक्राउ गरिएको घटना सबैभन्दा शंकास्पद देखिएको छ ।


घटनामा संलग्न सुष्मा विक र ताजमुल इस्लामलाई प्रहरीले पक्राउ गरेको थियो । योजनाकार समूहका दर्शन पोखरेल फरार भएका छन् । प्रहरीमा सो विषयमा डिल गर्ने उनी नै थिए । सबैजना भैँसेपाटी प्रभागमै रहेका वेला पक्राउ परेकामा उनी भने फरार हुनुले पनि घटना रहस्यमय बनेको छ । ती व्यापारी र युवती साउनको पहिलो साता इटहरीमा घुम्न गएका थिए । सोही विषयमा बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी प्रयोग गरी पैसा असुलिएको हो । यसमा प्रहरी नै आपराधिक योजनामा मिलेको प्रारम्भिक छानबिनमा देखिएको छ । स्रोत : नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
289
सम्बन्धित

लोकप्रिय

लोकप्रिय