झापामा ट्रकमा आगजनी गर्ने तुम्बापो र चौधरीमाथि ज्यान मार्ने मुद्दा, ९ जना पक्राउ

बिर्तामोड । ट्रकमा आगजनी गर्दै चालकलाई मार्न खोजेको आरोप लागेका झापाका दुईजनामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।


राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पिडिएफका झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू र महाअभियानका झापा सहसचिव ३३ वर्षीय सुरेश चौधरीमाथि मुद्दा दर्ता भएको हो ।

सो कसुरमा प्रहरीले कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चौधरी आइतबार र तुम्बापो मंगलबार पक्राउ परेका थिए ।


दुवैमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।

तुम्बापो र चौधरीसहित अन्यले असोज ६ गते राति दुईवटा भारतीय ट्रकमा आगजनी गर्नुका साथै ट्रक चालकलाई समेत ज्यान मार्ने प्रयास गरेका थिए ।

यसैबीच, आगजनीमा संलग्न अभियानका थप सातजना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । कनकाईको लक्ष्मीपुर क्षेत्रबाट हिजो राति उनीहरुलाई बिर्तामोड प्रहरीले पक्राउ गरेको हो ।

असोज ६ गते बिरिङ पुल र बुट्टाबारीमा दुईवटा भारतीय ट्रकमा भएको आगजनीमा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए ।

स्रोतका अनुसार पक्राउ पर्नेहरुमा हल्दिबारीका विवश लिम्बू, वीरबहादुर गुरुङ, खेमराज दाहाल, बिर्तामोडका उदय लिम्बू, बुद्धशान्तिका बलिहाङ लिम्बू, अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत रहेका छन् । झापाटुडे

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
466
सम्बन्धित

लोकप्रिय

लोकप्रिय