शान्ति वनको २६औँ सभा सम्पन्न, गरिबी न्यूनीकरणसहितका योजना सार्वजनीक[तस्बिरहरु]

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिका २ मा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहको २६औँ वार्षिक साधारणसभामा आज सम्पन्न भएको छ । समुहको कार्यलय परिसमा सभा गर्दै वनले २६औँ वार्षिक साधारणसभा समापन गरेको हो ।

शान्ति सामुदायिक वनले आगामी आर्थिक वर्षमा गरिबी न्यूनीकरणलाई मुख्य प्राथमिकता दिदै वन संरक्षण, विकास र उपभोक्ताहरुको हितमा महत्वपूर्ण कार्यक्रमहरुलाई अघि बढाएको छ । समूहले वन विकासका लागि वन संरक्षण, वन व्यवस्थापन, चोरी निकासी नियन्त्रण, अग्नि नियन्त्रणसँगै यस वर्ष उपभोक्तामाझ गरिबी न्यूनीकरण कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

समूहको आज सम्पन्न २६औँ वार्षिक साधारणसभामा अध्यक्ष खगेन्द्र कोइरालाले प्रस्तुत गरेको प्रतिवेदनमा गरिबी न्यूनीकरणलाई आगामी कार्यक्रमको सूची प्राथमिकताका साथ राखिएको छ । गरिबी न्यूनीकरणका लागि गरिब तथा विपन्न उपभोक्ताका लागि तीन तहको सरकारसँगको साझेदारीमा घर निर्माण, पशुको नस्ल सुधार, महिला सशक्तिकरण, महिला समूह सञ्चालन विपन्न विद्यार्थीलाई छात्रवृत्तिलगायत कार्यक्रम अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ ।


यसैगरी, विपन्नलाई औषधि उपचार तथा आर्थिक सहयोग, रोजगारमुलक युवा लक्षित कार्यक्रम समेट्दै समूहले २१ लाख ७७ हजार खर्च हुने अनुमान गरेको समूहकी कोषाध्यक्ष बिना रोकाले उल्लेख गरेकी छन् । समूहको आगामी कार्यक्रममा चुरे तथा नदी नियन्त्रण, वृक्षारोपण कार्यलाई निरन्तरता दिँदै कृषि तथा पशुपालनमा साझेदारी गर्ने, सामाजिक कार्य गर्ने, शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा सहयोग गर्ने, उपभोक्ताको हितमा हुने कार्य अघि बढाउनुका साथै ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिने प्रतिवेदनमा उल्लेख छ ।

समूहले वन विकासतर्फ २० लाख ८० हजार, सामुदायिक विकासतर्फ ९ लाख ५ हजार, प्रशासनिकतर्फ १८ लाख १२ हजार १९ रुपैयाँ ४५ पैसा र विविधतर्फ १० लाख २४ हजार २६५ रुपैयाँ खर्च हुने अनुमान गरेको छ । ४१२ दशमलव ०४ हेक्टर क्षेत्रमा फैलिएको वन समूहको घरधुरी संख्या ८८५ रहेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि समूहले ९० लाख ८९ हजार ९५० रुपैयाँ १७ पैसा खर्च हुने अनुमान गरेको छ ।

कार्यक्रममा १२ जना ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो । यस्तै, स्थानीय सरस्वती आविमा विद्यालय प्रथम हुने दिपांशु रिजाल, नवज्योति आविमा विद्यालय प्रथम हुने टंककुमारी रिजाललाई नगदसहित सम्मान गरिएको थियो । यसैगरी, अर्जुनधारा डान्सिङ स्टार बन्न सफल आकृति तामाङ, राष्ट्रिय तेक्वान्दो खेलाडी सविक श्रेष्ठ र अन्तर्राष्ट्रिय नेक्वान्दो खेलाडी प्रदिप गजमेरलाई पनि सम्मान गरिएको थियो ।

समूहका अध्यक्ष कोइरालाको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा २ नम्बर वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, पूर्व वडाध्यक्ष रघुनाथ खनाल, कनकाई सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सुरेश खनाल, सामुदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, लेखा समिति सदस्य मुकुन्द भण्डारीलगायतले आफ्ना धारणा राखेका थिए । समूहकी उपाध्यक्ष लक्ष्मी कन्दङ्वाले स्वागत गरेको कार्यक्रमको सञ्चालन समूहका सचिव नरेन्द्रप्रसाद गौतमले गरेका थिए ।

तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
92
सम्बन्धित

लोकप्रिय

लोकप्रिय