भुइँमान्छेको मुद्दा बोकेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

झापा । जौन योञ्जनको निर्देशनमा बनेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । बागमती नदी किनारका सुकुम्बासी बस्तीका भुइँ मान्छेको मुद्दालाई उठाएको फिल्मको ट्रेलर आइतबार युट्युबमार्फत् सार्वजनिक भएको हो ।

सुकुम्बासीहरुलाई सरकार र समाजले हेर्ने दृष्टिकोणलाई ‘आँखा’ टाइटल दिइएको बुझ्न सकिन्छ । फिल्मका यसअघि सार्वजनिक पोस्टर तथा टिजरहरुमा सूर्यमुखी फूलको विम्ब दिइएको छ । जसको अर्थ हुन्छ, दु:खलाई सहँदै मुस्कुराएर बाँचिरहेको जीवन । तर, सरकारका लागि उनीहरु टाउको दुखाइको विषय बनिरहेको छ, दुर्गन्ध ठानिरहेको छ । यसअघि सार्वजनिक टिजरले यही बताएको थियो ।

ट्रेलरको सुरुबाटै गरिबीका दृश्य भाषाले एकोहोरो बनाउँछ । गरिबलाई मान्छे नै नगन्नु, दुर्गन्धको सामना, उधारो समेत नपत्याइनु जस्ता दृश्य अनि ‘ठूल्ठूला घर भए पनि बस्ने ठाउँ नै छैन’ भन्ने कलाकार पशुपति राईको संवादले मनै चिसो बनाउँछ । ट्रेलरमा आजसम्म कहिल्यै नदेखिएका दृश्यहरु भेटिन्छन् । कलाकारहरुको चलचित्र र अभिनयप्रतिको समर्पण भाव ट्रेलरमा प्रस्ट झल्केको छ ।


आरके मेहता, स्मिता लामिछाने, विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, प्रवीण खतिवडा, सराेज खनाल, राजन खतिवडा, बालकलाकार प्रसन राई लगायतको अभिनय ट्रेलरमा निक्कै बलियो देखिन्छ । प्रवीण खतिवडाले दिएको दर्शन र सुकुम्बासी बस्तीमा बाँचिरहेको जीवनको दृश्यले दर्शकको मनमा एउटा सवाल छाडेर ट्रेलर सकिन्छ । अनि ट्रेलरको अन्तिममा एउटा चल्लाले उक्लिन गरेको कोसिस र पाएको सफलताले धेरै गहकिलो अर्थ बोकेको छ ।

ट्रेलर हेर्दा यो एउटा आर्ट मुभी भन्ने थाहा हुन्छ । निर्माण टिम र कलाकारहरुको धेरै मेहनत झल्किएको छ । मुख्य भूमिकामा रहेका आरके मेहता र स्मिता लामिछानेको अभिनयले ट्रेलरमै दर्शकलाई इमोसनल बनाउने क्षमता राख्छ ।

आलोक शुक्लाको सिनेमाटोग्राफी तथा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन रहेको फिल्ममा इन्द्रकला राई, जायन वाइवा, पवन गिरी मिना सिंहको स्वरमा रहेका गीत पनि सुन्न पाइनेछ । फिल्ममा निर्देशक योन्जनकै कथा-पटकथा तथा निर्माणमा बनेको फिल्मको कार्यकारी निर्मातामा नारायणप्रसाद बराल, लाइन प्रोड्युसर राम बस्नेत र कोप्रोड्युसर रेनुका कार्की डोली रहेका छन् ।

चलचित्र यही असोज ११ गतेबाट प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो चलचित्र निर्माण गरिएको हो । आरआर फिल्म्सले यसको वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
83
सम्बन्धित

लोकप्रिय

लोकप्रिय