स्व.पत्रकार पाठकको परिवारलाई पत्रकार महासंघ झापाद्वारा एक लाख सहयोग

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा आज शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व। पाठककी श्रीमती सीता र बुहारी हिमालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट उक्त रकम सहयोग प्रदान गरिएको हो ।

कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र भीम नेम्वाङले झापाली पत्रकारितामा स्वर्गीय पाठकको योगदानको चर्चा गर्दै पत्रकारका परिवारमा महासंघले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । स्व.पाठक महासंघ झापाका पूर्व सचिव तथा प्रेस चौतारी भापाका संस्थापक अध्यक्ष हुन् ।

पाठक परिवारको तर्फबाट बुहारी हिमाले महासंघ झापाको काम अनुकरणीय भएको बताउदै धन्यवाद ज्ञापन गरिन् । अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।


महासंघ झापाले पत्रकार सहारा उपचार कोषको कार्यविधिमै महासंघका सदस्यको मृत्यु भएमा परिवारलाई अधिकतम् एकलाख रुपैयाँसम्म प्रदान गर्ने यसैवर्षबाट व्यवस्था गरेको छ । गत अधिवेशनबाट पारित कार्यविधि अनुसार सदस्यको मृत्यु पश्चात पहिलोपटक महासंघले उक्त रकम प्रदान गरेको महासंघका कोषाध्यक्ष तथा कोषका सदस्य सचिव रञ्जित प्रसाईले जानकारी दिए ।

त्यस्तै यसै साता महासंघ झापाका सदस्यहरु तीन जना पत्रकार महिलालाई सुत्केरी वापत जनही २५ हजार रुपैयाँका दरले सुविधा रकम प्रदान गरेको छ । पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा हाल एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
145
सम्बन्धित

लोकप्रिय

लोकप्रिय