समयमै काम नगर्दा हुलाक कार्यालय दानाबारीका कर्मचारीहरुले तिरे ४० हजार जरिवाना

इलाम । इलामको माई नगरपालिका अतिरिक्त हुलाक कार्यालयले रजिस्टरी गरी पठाएको पत्र सम्बन्धित कार्यालयमा समयमा नपुग्दा अतिरिक्त हुलाक कार्यालय दानाबारीका कर्मचारीबाट जरिवाना तिराइ कारबाही गरिएको छ। हुलाक कार्यालयले गरेको कमजोरीमा हुलाक प्रतिनिधि, वितरक र डाँक वहाकलाई जरिवाना तिर्न लगाइएको बुझिएको छ।

माई नगरपालिका भित्रका ८ शिक्षकको २०८० श्रावण २६ गते राष्ट्रिय किताब खानामा पठाइएको सम्पत्ति विवरणको रजिस्टरी पत्र तीन सय दिनमा मात्र २०८१ जेठ २३ गते ३४ किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकाम पुगेको थियो।
शिक्षकहरूलाई चालु आर्थिक वर्षमा राष्ट्रिय किताब खानाबाट जरिवाना सहितको जानकारी विवरण आएपछि मात्र पत्र हराएको १० महिनामा जिल्ला सदरमुकाम पुगेको रहस्य बाहिर आएको हो। माई नगर भित्रका ८ शिक्षक सहित जिल्ला भित्रका १८ शिक्षक नगद पाँच हजारका दरले जरिवानामा परेका थिए ।

घटना बारेमा संचारमाध्यममा गत २०८१ भाद्र १ गते “हुलाक मार्फत पठाएको सम्पत्ति विवरण १० महिनामा सदरमुकाम पुग्यो, १८ शिक्षक जरिवानामा” शिर्षकको समाचार प्रकाशन भएपछि हुलाक कार्यालयले शिक्षकहरूको जरिवाना तल्लो तहका कर्मचारीबाट असुल गरी जरिवाना बापतको रकम शिक्षकहरुलाई फिर्ता गरेको थियो ।


माई नगरभित्रका शिक्षकहरू कल्पना राई, गोविन्द खतिवडा, टङ्कमाया तिम्सिना, राधिका राउत, डम्बर कुमारी राउत, विष्णुप्रसाद निरौला, हुमादेवी चापागाईं र यशोदा खड्काले नगद प्राप्त गरे पनि हुलाक कार्यालयका तल्लो तहका कर्मचारीहरु हुलाक प्रतिनिधि तिलबहादुर मगर, वितरक सरस्वती राई तथा डाँक वहाक गणेश कुमारी लावती र कमला राईलाई जनही दश/दश हजार जरिवाना बुझाउन लगाईएको छ ।

अतिरिक्त हुलाक कार्यालय ऐन २०३४ को व्यवस्था अनुसार दफा १९ को उपदफा २ अन्तर्गत जरिवाना तिराइएको हुलाक कार्यालय माई नगरपालिकाका हल्कारा रमेश आचार्यले बताए । उक्त दफामा हुलाक प्रतिनिधि वितरक र डाक बहाक ले आफ्नो कारण कुनै क्षति भएमा स्वयं कर्मचारीले जरिवाना बेहोर्नुपर्ने प्रावधान रहेको छ। हुलाकका तल्ला तहका कर्मचारीहरूलाई जरिवाना तिराउन लगाएपछि उनीहरू पीडित बनेका छन्।

मासिक ८ हजार तलब हाराहारी रहेका कर्मचारीबाट १० हजारका दरले जरिवाना असुल हुँदा कर्मचारी पीडित भएको एक कर्मचारीले बताए । यो कमजोरी समग्र हुलाक कार्यालयको स्वीकार्दै जरिवाना हुलाक कार्यालय वा हुलाक विभागका तर्फवाट बुझाईनु पर्ने थियो, उनले भने।

यसैबीच अतिरिक्त हुलाक कार्यालय रहँदै आएको माई नगरपालिकामा गत बुधबारबाट माई–२ को मस्ते लालटिन होटल नजिक पालिका स्तरीय हुलाक कार्यालय स्थापना गरिएको छ। हुलाक प्रतिनिधि, वितरक र डाँक वहाल कर्मचारी बाहेक अन्य तीनजना कर्मचारी रहने गरी कार्यालय नियमित सञ्चालन हुने हल्कारा रमेश आचार्यले बताए । स्रोत : लोकलसन्देश डटकम

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
347
सम्बन्धित

लोकप्रिय

लोकप्रिय