असोज ७ देखि बिर्तामोडको सोमबारेमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने

चारपाने । झापाको बिर्तामोड-२ स्थित सोमबारेमा असोज दोस्रो साता ‘झापा जिल्लास्तरीय सोमबारे नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय सोमबारे योङ स्टार फुटबल क्लबको आयोजनामा असोज ७ देखि १३ गतेसम्म फुटबल प्रतियोगिता आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

सोमबारे बाल विकास केन्द्रको खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा आयोजक टिम सोमबारेसँगै, राजगढ एफसी, जलथल एफसी, सैैनिक एफसी, चन्द्रगढी एफसी, बुट्टाबारी एफसी, बिर्तामोड युनाइटेड, शनिश्चरे एफसी, अर्जुनधारा एफसी, कनकाई स्पोर्टिङ क्लब, शिवसताक्षी एफसी र घैलाडुब्बा एफसीको सहभागिता रहने आयोजक समितिका सचिव माधव खरेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार र उपविजेता टोलीले नगद २५ हजार ५ सयसहित ट्रफी प्रदान गरिने आयोजक सोमबारे योङ स्टार क्लबका अध्यक्ष उमेश राईले जानकारी दनिुभयो । यसैगरी, विधागततर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रत्येक ‘दिन म्यान अफ दि म्याच’को पुरस्कार प्रदान गरिने बताइएको छ ।


प्रतियोगिता सम्पन्न गर्न अनुमानित ६ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका अध्यक्ष राईले जानकारी दिनुभयो । देशविदेशमा रहेका खेलप्रेमीको आर्थिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताबाट रकम बचत गरेर उज्यालो सोमबार अभियान अन्तरगत सडकबत्ती जडान गरिने आयोजकले जनाएको छ । सोमबारे चोक क्षेत्रको करिब १ किलोमीटर सडकमा बत्ती जडान गर्ने लक्ष्य रहेको राईले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौडेलले प्रतियोगिता सम्पन्न गर्न स्थानीय सरकार तथा व्यक्तीगत तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीय सरकारले संरक्षकको भुमीका निर्वाह गर्ने धारणा राख्नुभयो । खेलकुदबाट पनि सामाजिक काम गर्न सकिन्छ भन्ने सन्देशकासाथ प्रतियोगिता हुन लागेको भन्दै उहाँले आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा सामाजिक ब्यक्तित्व धर्म लक्सम्वा, क्लबका कोषाध्यक्ष बुधराज बेघा, टोल विकास संस्थाका अध्यक्ष बुद्धबिर राईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
856
सम्बन्धित

लोकप्रिय

लोकप्रिय