काठमाडौँ । वालिङ नगरपालीकाले संकटा क्लबमाथि जित हात पारेको छ ।
एन्फा महिला लिगको आज भएको पहिलो खेलमा संकटामाथि वालिङले १-० गोल अन्तरको जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङ जितमा सिसी नान्टोगोंले गोल गरिन् ।
वालिङका लागि ३९औं मिनेटमा आफैंले मिडफिल्डमा सुरुवात गरेको मुभलाई सानदार गोलमा परिणत गर्दै युगान्डाकी मिडफिल्डर सिसी नान्टोंगोले टोलीलाई जित दिलाएकी हुन् ।
दोस्रो खेलमा एपीएफसीले चन्द्रपुर नगरपालिकामाथि गोलवर्षा गरेको छ । चन्द्रपुरमाथि एपीएफले ६-० गोलको फराकिलो गोलअन्तरमा जित गरेको हो ।
एपीएफका लागि रेनुका नगरकोटीले २ गोल गरिन् भने रश्मीकुमारी घिसिङ, प्रिती राई, सविता रानामगर र गीता रानामगरको नाममा १-१ गोल रह्यो ।