बिर्तामोड । बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षारोपण गरिएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा सोमवार सडकको दुवैतर्फ फूलका बिरुवा रोपिएको हो ।बिर्तामोडलाई हरित नगर बनाउने उद्धेश्यका साथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा ४ सय फूलका बिरुवा तारजालीसहित व्यवस्थित तवरले रोपिएको छ ।
बिर्तामोड नगरपालिका र वडाहरूको सक्रियतामा यसअघि पनि भद्रपुर रोड, बिर्ता बजारलगायत आसपासका क्षेत्रमा वृक्षारोपण गरिएको थियो । सडकको बिच भागमा रहेको डिभाइडरलगायत कतिपय स्थानमा रोपेका फूलका बिरुवाहरू भने हुर्किसकेका छन् ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईँले आ–आफ्नो टोल, क्षेत्रमा बिरुवा रोप्न सबैलाई आग्रह गरिन् । उनले शहरी सौन्दर्यताका साथै वातावरण सन्तुलन कायम राख्नको लागि पनि वृक्षारोपण आवश्यक रहेको बताइन् । रोपेका बिरुवा हुर्काउने जिम्मेवारी नागरिकको पनि रहेकोले रेखदेख गर्न स्थानीयलाई आग्रह गरिन् । हुर्किसकेका बिरुवा उखेल्ने, हाँगा भाँच्नेलगायतका क्रियाकलाप हुने गरेको पाइएकाले यसो नगर्नसमेत आव्हान गरिन् ।
वृक्षारोपण कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, इन्चार्ज अम्बिर लिङ्देन, इलाका प्रहरी कार्यालय अनारमनिका प्रमुख डीएसपी प्रकाश विष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, जनप्रतिनिधिलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।