काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा कोशीले आइतबार कर्णाली प्रदेशलाई ४-० ले पराजित गर्यो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कोशीलाई जित दिलाउन पुर्णिमा राईले २ तथा प्रतिक्षा राई र समिक्षा मगरले समान १-१ गोल गरे । पुर्णिमाले ३४औं मिनेटमा गरेको गोलबाट कोशीले अग्रता लियो ।
६६औं मिनेटमा समिक्षाले अग्रता दोब्बर बनाइन् । पुर्णिमाले ७१औं मिनेटमा व्यक्तिगत दोस्रो तथा कोशीका लागि तेस्रो गोल गरिन् । प्रतिक्षाले ७४औं मिनेटमा गोल गर्दै कोशीको अपराजित यात्रा कायमै राखिन् ।
तेस्रो खेलमा अपराजित रहँदै ९ अंक जोडेको कोशी तालिकाको शीर्ष स्थानमा छ । पराजित कर्णाली नवौं स्थानमा झरेको छ । दोस्रो खेलमा नेपाल पुलिस क्लबले बागमती युथ क्लबलाई १-० गोलअन्तरले पराजित गरेको छ । पुलिसका लागि निर्मला उपाध्यायले ६५औँ मिनेटमा गोल गरेकी थिइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
तस्बिर : एन्फा