झापा । मेचीनगरको काँकडभिट्टा नाकाबाट भारतीय नम्बर प्लेट भएको कार प्रयोग गरी अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्राउने गरेको घटना बाहिर आएको छ ।
कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँ दुलो बनाई त्यसभित्र लत्ताकपडा हालेर सोजै भन्सार अगाडिबाटै सरसामान लैजाने तीन वटा भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिएसँगै सो घटना बाहिर आएको हो ।
नयाँ मेची पुलबाट सोजै भन्सार अगाडिबाट नेपाल भित्रिने ती कारहरूलाई सीमामा तैनाथ सुरक्षाकर्मी र भन्सार कर्मचारीले रोकेर चेकजाँच गर्दा खाली भएर त्यतिकै छाडिदिन्थे ।
कारभित्रको सिट, सिटमुनि र डिक्कीमा सरसामान नभएर छाडिएका ती कारहरूलाई शनिबार दिउँसो साढे ४ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा विभिन्न ब्रान्डका लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
तस्कर समूहले नयाँ शैली अपनाएर कारको पछाडि भागको ब्याक लाइट हुने ठाउँ दुलो बनाएर त्यहाँभित्र लत्ताकपडा राखेर नेपाल सरसामान भित्राउँदै आइरहेको थियो । यसबारेमा सीमामा तैनाथ सुरक्षाकर्मीले सुइँको समेत पाएनन् ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एन ६८७८, डब्लुबी ७४ पी ७७९९ र डब्लुबी ७४ एन ८५६२ नम्बरको भारतीय कारसहित तीन जनालाई चालकलाई अवैध सामानसहित नियन्त्रणमा लिएको छ ।
ती कारहरू भित्र लुकाइछिपाई ल्याएको अन्दाजी ३ लाख ९९ हजार एक सय रुपैयाँ बराबरको पुरुष ट्राउजर ११० पिस, लेडिज ट्राउजर ४२ पिस, रुमाल १२५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस , लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस फेला परेको थियो ।
ती सामानहरूसहित अन्दाजी २४ लाख बराबरको तीन वटा कार र त्यसका चालकहरू भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला पानीट्याङकी बस्ने ४२ वर्षीय रामदयाल बर्मन, सोही ठाउँका ३३ वर्षीय अमित राय र ४६ वर्षीय राजकुमार घोषलाई नियन्त्रणमा लिएको डीएसपी चन्दले बताए ।