खडाभयो दुर्गा प्रसाईँको नागरिक प्रतिरक्षा बल (पीडीएफ)

झापा । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको भ्रातृ संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले बिर्तामोडमा विरोध प्रदर्शन र सभा गरेको छ ।

बिर्तामोड ३, सैनिकमोडस्थित नागरिक प्रतिरक्षा बलको कार्यालय अगाडिबाट र्‍याली सुरु भएको थियो । सवारीसाधनहरूमा नेपालको झन्डा र पीडीएफ लेखिएको टिसर्ट लगाएर ‘भ्रष्टाचारी सरकार मुर्दावाद, निकम्मा सरकार मुर्दावाद, गिरीबन्धु टी इस्टेटको फाइल खुल्ला गर, बैङ्क, लघुवित्त, सहकारपीडितलाई न्याय दे’ जस्ता नाराहरू लगाउँदै मोटरसाइकल र्‍याली निकालिएको थियो । उक्त मोटरसाइकल र्‍याली सैनिक मोडबाट बिर्तामोड-५ स्थित सिटी सेन्टर, महानन्द चोक, मुक्ति चोक हुँदै चारपाने पुगेर पुनः सिटीसेन्टरमा फर्किएर साई पार्टी प्यालेसको सभा हलमा कार्यक्रममा परिणत भएको थियो ।

नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोको नेतृत्व तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँको उपस्थितिमा १५० वटा मोटरसाइकल ,१५वटा अटो, १२ वटा छोटा हात्ती,५–६ वटा साना गाडी गरी करिब ४०० को सङ्ख्यामा सहभागी थिए । जिल्ला संयोजक तुम्बापोको अध्यक्षता तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक प्रसाईँको प्रमुख आतिथ्यमा सभा गरेका थिए ।


कार्यक्रममा नागरिक प्रतिरक्षा बलका सदस्यहरूलाई खादा लगाइदिएर सम्मान गरिएको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका मोरङका उम्मेदवार विकास उप्रेतीलगायत ४४ जना दुर्गा प्रसाईँको अभियानमा प्रवेश गरेको भनी उद्घोष गरिएको थियो ।

कार्यक्रममा अभियानका सांस्कृतिक विभाग प्रमुख माधव कल्पित, उच्च स्तरीय कार्यदलका प्रमुख हरि श्रेष्ठ, नागरिक प्रतिरक्षा बलका केन्द्रीय संयोजक मिलन लामा, पूर्वाञ्चल संयोजक उमेश लामालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
264
सम्बन्धित

लोकप्रिय

लोकप्रिय