बिर्तामोडमा ७ वटा योजनाको एकसाथ शिलान्यास

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बिहीवार ७ वटा योजनाको एकसाथ शिलान्यास गरेको छ । महिलाले नेतृत्व गरेका देशभरका १३ वटा स्थानीय तहलाई नमुना शहरअन्तर्गत पूर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएको छ । सोही बजेट बिर्तामोडका ७ वटा योजनामा खर्च हुने भएको हो ।

६ वटा कालोपत्रे सडक र एउटा सामुदायिक भवन निर्माण हुने भएको छ । सो बजेटबाट एभरेष्ट स्कुल हुँदै हरिहर आश्रमदेखि मियावारी बिर्ताबजारसम्म १२४० मिटर, करेलावारी माधव न्यौपानेको घर हुँदै वडा नं १० को विराट आधारभूत स्कुल जोड्ने सडक १३०० मिटर , पूर्वपश्चिम राजमार्ग उत्तर अतिथि सदन हुँदै मनकुमार गौतमको घर अर्जुनधारा नगरपालिकाको सिमाना जोड्ने सडक ९०० मिटर , सांगवेद खादोसरी मार्ग हुँदै पूर्व गौरव पेट्रोलपम्पबाट दक्षिण बानालाल मार्गसम्म ९४० मिटर, गरामनी त्रिवेणी चौकबाट कटहरवारी हुँदै हल्दिवारीसम्म १२३७ मिटर ,पंचकन्या धर्मकाँटा उत्तर सिर्जना इन्दिरा खवासको घर हुँदै अर्जुनधारासम्म १२०० मिटर कालोपत्रे बाटो निर्माण हुने भएको हो । त्यस्तै हरियाली सामुदायिक वन पार्कको निर्माण हुने भएको छ ।

बिर्तामोडमा महिला मेयर भएको हुनाले नमुना शहर निर्माणको लागि बजेट प्राप्त भएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन् । बिर्तामोडमा अन्य स्थानीय तहको भन्दा धेरै सडक भएकाले एकै पटक सबै आयोजना निर्माण गर्न नसकिएको उनले बताइन् । उनले क्रमैसँग निर्माणको कामलाई अघि बढाइने जानकारी दिइन् ।


७ वटै योजनाको एकीकृत रुपमा ठेक्का दिइएको छ । शान्ति उद्धेश्य निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनीका प्रोप्राइटर नयन बरालले समयमा र गुणस्तरीय काम गर्ने प्रतिबद्वता जनाए । एक वर्ष आठ अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने गरि सडक ठेक्का लागेको हो । समयमा बजेट उपलब्ध भए ६ महिनामा निर्माण सम्पन्न गर्ने प्रतिबद्वता उनले जनाए ।

शहरी विकास कार्यालयका इन्जिनियर सुरेशकुमार चौधरीका अनुसार भ्याटबाहेक ६ करोड ३१ लाखको लागतमा निर्माणको लागि ठेक्का लागेको छ । १३ करोड बजेट रहेकोमा शान्ति उद्धेश्य निर्माण सेवाले ३५ प्रतिशत घटीमा ठेक्का लिएको हो ।

बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलको अध्यक्षता तथा नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , नेकपा एमालेका बिर्तामोड अध्यक्ष सुवास भट्टराई , निर्माण व्यवसायी नयन बराल ,इन्जिनियर सुरेशकुमार चौधरीले बोलेका थिए । कार्यक्रमको संचालन घनश्याम भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
113
सम्बन्धित

लोकप्रिय

लोकप्रिय