तीजको दरमा के खाने, के नखाने ?

नेपाली हिन्दु महिलाहरुको ठुलो चाड तीजले छपक्कै छोपिसकेको छ। तीजको अघिल्लो दिन आज दर खाने चलन छ। महिलाहरुका लागि तीजको रमाइलो भनेकै दर खाने, पानी समेत नखाई ब्रत बस्नु अनि नाचगान गर्नु नै हो। तर चिकित्सकहरुका अनुसार दरका नाममा अघिल्लो दिन टन्न खाने र भोलिपल्ट पानी समेत नखाई ब्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले निकै खराब हो।

अघिल्लो दिन बढी चिल्लो, पिरो र मसालेदार खान खाने र भोलिपल्ट केही नखाई ब्रत बस्ने गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर मुर्छा पर्दै उपचारका लागि अस्पताल आउने महिलाको संख्या हरेक वर्ष बढीरहेको चिकित्सक बताउँछन्। पानी समेत नखाई ब्रत बस्ने गर्दा धेरै महिलाहरु नाच्दा नाच्दै ढल्ने वा मूर्छा पर्ने समस्या आउने गरेको चिकित्सकहरू बताउँछन्। पानी नखाँदा शरीरमा ग्लुकोजको मात्रा कम भई हाइपोग्लाइसेमिया र हिट सिन्कोपका कारणले महिला बिरामी हुने गरेको पाइन्छ।

दरमा यस्ता खाना नखाने


ब्रत बस्नु भन्दा अघिल्लो दिन तीजको अर्को रमाइलो पक्ष दर खानु हो। दरमा धेरै थरीका परिकार समावेश हुन्छन्। दरको दिन परिकार तयार गर्नेक्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ। सकेसम्म घरमै परिकारहरु तयार बनाएर खाँदा राम्रो हुन्छ। भोलीपल्ट ब्रत बस्नु पर्ने भएकाले बढी चिल्लो, पिरो र गालेका खानेकुराहरु खानुहुँदैन।

घरमा दर बनाउन झन्झटिलो हुने भन्दै बजारबाट मिठाईं तथा अन्य परिकार खरिद गरी ल्याउने चलन बढेको छ। बजारमा सजाइएका मिठाईहरु हेर्दा आकर्षक र खाउ खाउ लाख्ने भए पनि त्यस्ता मिठाईलाई आकर्षक बनाउन तथा बिग्रन नदिन केही रंग तथा प्रिजभेटिभहरु प्रयोग गरिएको हुन्छ। त्यसकारण मिठाई खरिद गर्दा विश्वासिलो पसलबाट खरिद गर्दा राम्रो हुन्छ। होइन भने कम गुणस्तरका खाद्य रंग प्रयोग गरेका मिठाइले शरिरम असर गर्नसक्छ। यस्ता रंगले कसैलाई पेट दुखाउने, बान्ता गराउने, पखाला लगाउने एवं फुड प्वाइजनिङ आदि गराउन सक्ने चिकित्सकहरुको भनाई छ।

खाद्यपदार्थलाई बिग्रनबाट जोगाउने पदार्थ अर्थात् प्रिजभेटिभको एलर्जी धेरैलाई हुन्छ जसले गर्दा मुख तथा जिब्रोमा घाउ, खटिरा आउन सक्छन्। त्यस्तै दरमा विभिन्न किसिमका अचार पनि राखिन्छ। यस्ता अचारले खानामा रुचि बढाउने भए पनि धेरै चिल्लो र मसलेदार भए अपच हुने, एसिडिटी बढ्ने समस्या पनि देखिन सक्ने भन्दै चिकित्सकले खाने कुरामा विशेष ध्यान दिन महिलाहरुलाई सुझाव दिएका छन्।

दरका अधिकांश खानेकुरा चिल्ला हुँदाहुँदै पनि घिउ विशेष महत्वका साथ खाइन्छ। भोलिपल्ट ब्रत बस्नुपर्ने भएकाले दरमा घिउ तथा बोसो भएका पदार्थ सेवन गर्ने चलन छ। चिल्लो पदार्थ, बोसो बाट बढी शक्ति पाइने भएकाले यस्तो भएको हो तर यसरी धेरै चिल्लो पदार्थ तथा पिरो, अमिलो अनि मसलेदार खानाले एसिडिटी बढ्ने एवं पेट पोल्ने हुन्छ।

यस्ता खाना खाउँ

दरमा चिल्लो कम र पिरो कम खानुपर्छ। मासु खानेहरुले थोरै मासू खाने र सँगसँगै दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु उत्तम हुन्छ। ब्रतको दिनमा पनि आफ्नो शरीरको ख्याल गरी आवश्यकता अनुसार फलफुल र पानी सेवन गर्नु राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
225
सम्बन्धित

लोकप्रिय

लोकप्रिय