सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न पूर्वप्रहरी प्रमुखहरूको माग [ विज्ञप्ती सहित ]

विर्तामोड । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कारबाही गर्न पूर्वप्रहरी प्रमुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन्।

पूर्वप्रहरी संगठन प्रमुख मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने भनी दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाही माग गरेका हुन्।

‘प्रधानमन्त्रीसमक्ष मन्त्री गुरुङको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौँ’, मञ्चको विज्ञप्तिमा भनिएको छ।


आइतबार पोखरामा पत्रकार सम्मेलनमा मन्त्री गुरुङले संघीय प्रहरी ऐन ल्याउन प्रहरी महानिरीक्षकले अस्वीकार गरेको आरोप लगाउँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको विरोध भइरहेको छ। 

पदीय हैसियत नै बिर्सिएर मन्त्री गुरुङले दिएको अभिव्यक्तिले उनी प्रहरीको नजरमा गिरेको टिप्पणी पूर्व प्रहरी प्रमुखहरूले गरेका छन्।

पूर्वप्रहरी संगठन प्रमुख मञ्चद्वारा जारी प्रेस विज्ञप्ति

‘अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी सार्वजनिक कार्यक्रममा एक विशिष्ट श्रेणीका राष्ट्र सेवक नेपाल प्रहरीका प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने जस्ता शब्दहरूको प्रयोग गर्नु भएकोमा यस मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ। 

मन्त्री गुरुङबाट प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले उनकै राजनीतिक कद घटाएको र नेपाल प्रहरीको नजरबाट गिरेको उल्लेख गरेका छन्। 

मञ्चले मन्त्री गुरुङलाई तत्काल उक्त बचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरक्षिकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व सचेत रहन आग्रह गरेको छ। 

मञ्चले प्रहरी संगठन र प्रमुखलाई यस्ता प्रसंगमा अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागि रहन पनि मञ्चले ऐक्यवद्धतासहित अपिल गरेको छ। 

  • सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न कांग्रेस सांसद शंकर भण्डारीको माग

सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद शंकर भण्डारीले संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

कांग्रेस सांसद शंकर भण्डारी

नेता भण्डारी प्रेस विज्ञप्ति जारी गर्दै एमाले नेतासमेत रहेका मन्त्री गुरुङलाई पदबाट बर्खास्त गर्न माग गरेका हुन्।

‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त गरेकोमा त्यसको घोर भत्सर्ना गर्दै प्रधानमन्त्रीले मन्त्री गुरुङलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अभिव्यक्तिको कारण शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा त्यसको जिम्मेवारी स्वयं सरकार र प्रधानमन्त्री हुने कुरा व्यक्त गर्न चाहन्छु।’

कांग्रेस सांसद शंकर भण्डारीको प्रेस विज्ञप्ती

भण्डारीले सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बंग्याएर समाजमा वितृष्णा फैलाउने र पार्टी पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न पनि अनुरोध गरेका छन्।

  • प्रधानमन्त्री ओलीद्वारा सञ्चारमन्त्री गुरुङलाई सार्वजनिक रुपमा बोल्दा विचार पुर्‍याउन निर्देशन

सञ्चारमन्त्री गुरुङको अभिव्यक्ति विवादित बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गुरुङलाई सार्वजनिक रुपमा बोल्दा विचार पुर्‍याउन निर्देशन दिएका छन्।

मन्त्री गुरुङलाई प्रधानमन्त्रीले बोल्दा भाषा प्रयोगमा ख्याल गर्न निर्देशन दिएका हुन्। विवादित अभिव्यक्ति दिएका मन्त्री गुरुङले पनि प्रधानमन्त्रीको निर्देशनलाई आफूले पालना गर्ने बताएका छन्।

‘मैले सन्दर्भवस् बोलेको कुराले अहिले तरंग पैदा गरेको छ। यस विषयमा प्रधानमन्त्रीले पनि चासो राख्नुभयो,’ सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गुरुङले भनेका थिए, ‘मैले उहाँलाई सबै सन्दर्भ बताएँ। उहाँले तपाईं सरकारको प्रवक्ता हुनुहुन्छ। बोल्दाखेरी विवादमा आउने खालको भाषा प्रयोग नगर्नूस्। हरेक कुरामा लामो लामो बोल्ने बानी छ, छोटो बोल्ने गर्नूस् भन्नुभयो। मैले त्यसलाई स्वीकार गरेँ।’

आफूलाई प्रधानमन्त्रीले सोधपुछ गरी सचेत गराएको र सुझाव दिएको जानकारी दिँदै उनले आफूले पनि अब बोल्दा बिचार पुर्याउने बताएका छन्।

यो सामाग्री नेपाल खबर डटकमबाट साभार गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
412
सम्बन्धित

लोकप्रिय

लोकप्रिय