३२ बर्षमा २ किलोमिटर मात्र कालोपत्रे बनेपछि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर यात्रा गर्न बाध्य यात्रुहरु

दमक । तीन दशक अघिदेखि निर्माणाधीन दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) अन्तर्गत दुई खण्डको ठेक्का तोडिएपछि सडक निर्माणको काम फेरि अनिश्चित भएको छ । झापा, इलाम र पाँचथरको प्रत्येक चुनावमा मुख्य एजेन्डा बन्ने गरेको यो सडक निर्माणमा भएको ढिलासुस्तीविरुद्ध स्थानीयले बारम्बार आवाज उठाउँदै आएका छन् । झापाको दमकदेखि, इलाम र पाँचथर जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट भएर पनि निर्माण व्यवसायीको लापर्बाहीका कारण निर्माण अलपत्र परेको बताइएको छ ।

“अहिले ठेक्का तोडिएको सुनेका छौँ । अब फेरि कहिले सडक निर्माणको सुरु हुन्छ थाहा छैन ।”

 

–   हेमन्त राई, अध्यक्ष, माङ्सेबुङ गाउँपालिका, इलाम

सडक निर्माण अलपत्र पर्दा बर्सातमा धेरै नै मुस्किल हुने गरेको माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । गाउँपालिकाले बजेट विनियोजन गरेर बेला बेला सडकको पहिरो र हिलो पन्छाउने गरेको उनले बताए । बारम्बार सडकको विषयमा छलफल हुँदा काम गर्ने भनेर निर्माण व्यवसायीले प्रतिबद्धता जनाउने तर काम नहुने गरेको राईको भनाइ छ । उनले भने “अहिले ठेक्का तोडिएको सुनेका छौँ । अब फेरि कहिले सडक निर्माणको सुरु हुन्छ थाहा छैन ।”

ट्र्याक चौडा गर्दै कालोपत्रेका लागि तीन खण्डमा छ वर्षअघि नै ठेक्का लागेको सडकको अहिलेसम्मको प्रगति करिब ५० प्रतिशत मात्र रहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । दमकदेखि चिसापानी ३३ किलोमिटर सडकमध्ये अहिले करिब दुई किलोमिटर मात्र कालोपत्रे भएको छ । दमकको जिरो प्वाइन्टदेखि सात किलोमिटर सडक पहिलो खण्ड अन्तर्गत ६० प्रतिशत काम पूरा भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर एवं सूचना अधिकारी गौतमकुमार देवले बताए ।


“पाँच पटकभन्दा बढी म्याद थप गर्दा पनि काम पूरा हुन सकेको छैन । कालोपत्रेका लागि तयारी अवस्थामा रहेको छ तर निरन्तर पानी परेको र विभिन्न कारणले रोकिएको छ । ढिला काम गरेकाले निर्माण व्यवसायीले जरिबाना पनि तिरिरहेको छ । निर्माणका लागि अब नयाँ प्रक्रियामा जानु पर्छ ।”

 

– गौतमकुमार देव, इन्जिनियर एवं सूचना अधिकारी, सडक डिभिजन कार्यालय दमक

पहिलो खण्डमा करिब दुई किलोमिटर कालोपत्रे भएको छ । उनले भने , “पाँच पटकभन्दा बढी म्याद थप गर्दा पनि काम पूरा हुन सकेको छैन । कालोपत्रेका लागि तयारी अवस्थामा रहेको छ तर निरन्तर पानी परेको र विभिन्न कारणले रोकिएको छ । ढिला काम गरेकाले निर्माण व्यवसायीले जरिबाना पनि तिरिरहेको देवको भनाइ छ । २०७५ साल साउन २९ गते महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी ठेक्का लिएको थियो ।

उनले यो ठेक्का नतोडिएको बताए । सन्तोषजनक काम नभएको र बारम्बार पत्राचार गरिएको देवको भनाइ छ । सडकको दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किलोमिटर सडक भने निर्माण सम्झौता रद्द भएको छ । लुम्बिनी–गणपति जेभीले निर्माण सम्झौता अनुसार काम नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको प्रवक्ता देवले जानकारी दिए । उनले भने, “निर्माणका लागि अब नयाँ प्रक्रियामा जानु पर्छ ।”

दोस्रो खण्डमा ६० प्रतिशत र तेस्रो खण्डमा २२ प्रतिशत प्रगति छ । यो दुवै खण्डमा कालोपत्रेको काम भने सुरु भएकै छैन । २०७६ फागुनमा दोस्रो र तेस्रो सडकखण्डको ठेक्का लागेको थियो । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको देवले बताए।

अब स्रोत सुनिश्चित गरेर सडक निर्माणका लागि फेरि नयाँ प्रक्रियामा जानुपर्ने अवस्था रहेको र त्यही अनुसारको तयारी गरिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । २०४९ सालदेखि यो सडक निर्माणका लागि पहल हुँदै आएको छ । डा. गोपाल कोइरालाको नेतृत्वमा त्यतिबेला सडक निर्माण उपभोक्ता समिति बनेको थियो । लोकल सन्देश डटकमबाट

 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
250
सम्बन्धित

लोकप्रिय

लोकप्रिय