बिर्तामोड । झापाको हल्दिबारीमा पिकअप भ्यान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु हुने दुवै जनाको पहिचान खुलेको छ ।
मृत्यु हुने हल्दिबारी गाउँपालिका ५ का अन्दाजी ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरी वराहक्षेत्र–०६ प्रकाशपुर बस्ने २१ वर्षीय बिकेश कार्की भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कार्की मृतक प्रेम प्रसाईँका साला धनबहादुर कार्कीका छोरा हुन् ।
हल्दिबारी ५ सोडागान्धी चोकस्थित हुलाकी राजमार्गमा बिहीबार साँझ ७:१५ बजे राजगढवाट जलथलतर्फ जाँदै गरेको गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलवाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको थियो ।
दुवै घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषित गरेका थिए । पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका २ बस्ने ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।