डाक्टरले देब्रे हात भाँचिएका बालकको दाहिने हातमा प्लास्टर गरिदिएपछि

बझाङ । बझाङमा बाँया हात भाँचिएर उपचारका लागि आएका एक जना बालकको दायाँ हातमा प्लास्टर गरिएको तस्विर मंगलबार साँझदेखी सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीहरुको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीहरुलाई सञ्जाल प्रयोगकर्ताहरुले गाली गरिरहेका छन् ।

अस्पतालले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको भन्दै मंगलबार केही बेर विप्लव समर्थक कार्याकर्ताहरुले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए । भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिकाका-७, दौलाका सात वर्षीय सुनिल दौल्याल हुन् । आइतबार साँझ घरको ढोका नजिकै अरु बालक सँग खेल्ने क्रममा लडेका सुनिललाई उनकै दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए ।

सोमबार दिउँसो तीन बजे अस्पताल पुर्‍याइएका उनको एक्स-रे गर्दा बाँया हातको कुइनामा भाँचिएको देखियो । चिकित्कसले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनिललाई वार्डमा भर्ना हुन लगाए । केही बेरमा आएका नर्सहरुले हातमा प्लास्टर गर्नु पर्ने भनेर बालकलाई अर्को कोठामा लगे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सिमा बसेका थिए । प्लास्टर सकिए पछि भोलि अपरेसन हुन्छु भन्दै स्वास्थ्यकर्मीले सुनिललाई आदेशको जिम्मा लगाए ।

आदेश पनि सुनिललाई लिएर अस्पतालको क्यान्टिनमा खाना खान गए । ‘क्यान्टिनमा पुगे पछि हेर्दा त भाँचिएको हातमा नभई अर्को हातमा प्लास्टर गरिएको रहेछ, आदेशले भने, ‘मैले भिडियो बनाउँदै गरेको देखेपछि क्यान्टिनका कर्मचारीले डाक्टरलाई खबर गरेछन् । तुरुन्तै आएर भाइलाई भित्र लगे । पहिलाको प्लास्टर फालेर फेरि अर्को हातमा लगाइदिए ।’ गल्तीले अर्को हातमा प्लास्टर भएछ भन्दै स्वास्थ्यकर्मीहरु आए फेरि प्लास्टर गरेको उनले बताए ।

मंगलबार साँझ हात भाँचिएका बालकको शल्यक्रियापछि बुधबार अस्पतालले उनलाई डिस्चार्ज गरेको छ । भाँचिएका हड्डीलाई तारको सहयोगले जोडेर बालकको शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले बताए। शल्यक्रिया गर्नु पूर्व भाँचिएको हात थप नबिग्रियोस भनेर सपोर्ट लगाउने क्रममा उक्त कमजोरी भएको उनले स्वीकारे ।

प्लास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै डाक्टर खड्काले यो मानविय त्रुटी भएको बताए । ‘प्राय यस्तो केस मैले आफैले हेर्ने गर्थें । त्यो दिन खुट्टा भाँचिएको अर्को गम्भीर बिरामी आएकोले म इमर्जेन्सीमा जान्छु । बच्चाको हातमा सर्पोट लगाइदिनु भनेर तल झरें । उनीहरुले अर्कै हातमा सर्पोट लगाइ दिएछन्, खड्काले भने ‘कहिले काँही यस्तो ह्युमन इरर हुन्छ । मैले थाहा पाउने बित्तिकै आधा घण्टा भित्रै सच्याए ।’

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
2
+1
0
+1
2
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय