बिर्तामोड । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) झापाको पहिलो साधारणसभाबाट अध्यक्षमा डा. रुपेशजंग बेलबासे सर्वसम्मत भएका छन् ।
बुधबार साँझ होटल मेची क्राउनमा भएको साधारणसभाले दोस्रो कार्याकालका लागि डा. बेलबासेको नेतृत्वमा समिति चयन भएको हो । साधारणसभाले युवा उद्यमी मञ्चको प्रथम उपाध्यक्षमा गणेश पौडेल, द्वितिय उपाध्यक्षमा मिजास पोखरेल, सचिवमा अजित ढुङ्गाना र कोषाध्यक्षमा सुरज चौधरीलाई चयन गरेको हो ।
यस्तै, कार्यकारी सदस्यहरुमा आयुष बजगाई, उत्सव उप्रेती, निरज चौधरी, जस्मिन श्रेष्ठ, विशाल विमली, विकास अग्रवाल, मनिष साहेवाला रहेका छन् । समितिको आमन्त्रित सदस्यहरुमा बरदान बस्नेत र डा.आशिष शर्मा रहेका छन् ।
कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका उद्योगी व्यवसायीहरुको आतिथ्यता रहेको थियो । प्रमुख अतिथि मन्त्री कार्कीले नेपालमा रोजगारी सिर्जना गर्न नेपाली युवा उद्यमी मञ्चले गरिरहेको योगदानको प्रशंसा गरे । उनले नीजि क्षेत्रले रोजगारी सिर्जनामा ठुलो योगदान गरिरहेको बताए । मन्त्री कार्कीले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न कोशी प्रदेश सरकार सधैं तयार रहेको बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले गरिवी निवारणका लागि उद्योग व्यापार क्षेत्रको भूमिका हुने बताए । युवाहरुले व्यापारसँगै सामाजिक क्षेत्रमा गरिरहेको सेवा बारे उनले खुलेर प्रशंसा गरेका छन् । युवा उद्यमी मञ्चका प्रथम अध्यक्ष प्रभेस बस्नेतले पहिलो कार्यकाललाई सफल बनाउन सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् । उनले पहिलो कार्यकाल सिकाईको वर्ष भए पनि मञ्चको पहिलो वर्ष उपलब्धीमुलक भएको बताए । युवा उद्यमीहरुलाई उत्प्रेरित गर्दै युवा व्यवसायीबीच सम्बन्ध विस्तार गरेका दावी गरे । सामाजिक सेवासँगै व्यापारी युवाहरुको लागि युवा उद्यमी मञ्च महत्पूर्ण ठाउँ भएको उनको भनाई छ ।
युवा उद्यमी मञ्चका उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठले संस्था स्थापनादेखि हालसम्मको विस्तारका बारेमा जानकारी गराएका थिए । सोही साधारणसभामा युवा उद्यमी बिर्तामोडस्थित गणपति वेकरका सञ्चालक राजु ढकाललाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा युवा उद्यमी मञ्च नेपालका अध्यक्ष रितेश लामिछाने, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महिला उद्यमी सुस्मा पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला व्यवसायीहरु, मेची भन्सार प्रमुख रामप्रसाद रेग्मी, जिल्लाका सुरक्षा प्रमुखहरुको आतिथ्यता रहेको थियो ।