कोशीमा बाढी पहिरोका कारण ६ सय ४५ घरपरिवारका करिब ३ हजार मानिस विस्थापित

लक्ष्मी उप्रेती,
मेचीनगर । केही दिन यतादेखिको अविरल वर्षाका कारण कोशी प्रदेशका दुई हजार बढी मानिस विस्थापित भएका छन् ।वर्षाका कारण नदीमा आएको बाढीको डुबान तथा पहिरोका कारण छ सय ४५ घरपरिवारका दुई हजार नौसय १९ जना मानिस विस्थापित भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


कार्यालयका अनुसार सबैभन्दा बढी सुनसरीमा पहिरोमा सात तथा डुबानमा दुई सय छ वटा घर पर्दा दुई सय २६ परिवार विस्थापित भएका थिए । संख्याका हिसाबले ती परिवारका नौसय ९७ जना विस्थापित भएका हुन् । जेठ २८ गतेदेखि असार २५ गते ३० दिनमा चारसय ६६ घर पहिरो र चारसय ७१ घर बाढीको जोखिममा रहेका छन् । कोशी प्रदेशभरिका १४ वटा जिल्ला नै पहिरो र बाढीको जोखिममा छन् ।

ताप्लेजुङ जिल्लाका एकसय ३४ वटा घर जोखिममा पर्दा त्यसमा बसोबासरत छ सय ७९ जना विस्थापित भएको कार्यालयले जनाएको छ । यो जिल्लामा एकसय ९१ घर पहिरोको जोखिममा छन् । पहिरो र डुबानका कारण पाँचथरमा एकसय तीन वटा घर विस्थापित हुँदा त्यसमा बस्ने तीनसय ५९ जनाको उठीबास भएको छ । थातथलो गुमेपछि उनीहरुलाई नजिकैका शिक्षण संस्था, धर्मशाला, सामुदायिक भवनलगायतका सुरक्षित स्थानमा उद्धार गरी राखिएको प्रहरीको भनाई छ । पाँचथरमा एकसय छ घर पहिरोको जोखिममा रहेको प्रहरीको अभिलेखले देखाएको छ ।


झापामा तीनवटा घर पहिरो र एकसय ८६ वटा घर डुबानको जोखिममा छन् । २८ वटा घर विस्थापित हुँदा एकसय २० जनाले थातथलो छाडेर हिड्नु पर्यो । पहिरो र बाढीका कारण मोरङका ६८ वटा परिवार पूर्णरुपमा विस्थापित भए । जसका कारण तीनसय ३० जनालाई अहिले सुरक्षित स्थानमा सार्नुपरेको छ । प्रहरीको अभिलेख अनुसार तेह्रथुमका दुईवटा घर पहिरोको जोखिममा छन् । एउटा घर विस्थापित हुँदा त्यसमा बस्ने एकजना मानिस विस्थापित भएका छन् । भोजपुरमा दशवटा घरपरिवार विस्थापित भएका छन् । ती घरमा बस्ने परिवार संख्या ६४ रहेको प्रहरीको अभिलेखले देखाएको छ । भोजपुरका १५ वटा घर पहिरोको जोखिममा छन् ।

संखुवासभाका ५९ घर पहिरोको जोखिममा छन् भने ५६ वटा परिवार विस्थापित भए । ती घरमा आश्रय लिइरहेका दुई ८१ जना सदस्यले पुरै घर छाड्नु पर्यो । उदयपुरमा छ वटा घर जोखिममा पर्दा ३३ परिवार विस्थापित भएका छन् । खोटाङका दुईवटा घरका १४ जना विस्थापित भएको प्रहरीको भनाई छ । त्यस्तै ओखलढुङ्गामा छ वटा घरका २४ जना विस्थापित भए । त्यस जिल्लामा ८३ वटा घर पहिरोको जोखिममा रहेका छन् । सोलुखुम्बुका पाँचवटा घर पहिरोको जोखिममा पर्दा १७ जनाले आफ्नो थातथलो छाडेर हिड्नु पर्यो ।

यो अवधिमा जिल्लाका विभिन्न नौवटा हाइड्रोपावरमा क्षति पुगेको छ । प्रहरीका अनुसार इलाम, ताप्लेजुङ जिल्लामा सञ्चालन तथा निर्माणाधिन अवस्थामा रहेका एक–एक, पाँचथर र ओखलढुङ्गाका दुई–दुई र संखुवासभा जिल्लाका तीन वटा गरी कुल नौ वटामा क्षति पुगेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
385
सम्बन्धित

लोकप्रिय

लोकप्रिय