रास्वपाले महामन्त्री मुकुल ढकाललाई पार्टीकाे सबै जिम्मेवारीबाट हटायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् ।


उनका अनुसार ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको छ । रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ ।

ढकालमाथि समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालोटेप लगाएर बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोप छ ।

गत बुधबारको रास्पाको बैठकले मुकुललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । उनीमाथि थप कारबाही सिफारिस गर्न अनुशासन आयोगलाई जिम्मा दिइएको थियो । आयोगले ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।

केन्द्रीय समितिको आजको बैठकमा सो सिफारिसमाथि छलफल हुँदा अधिकांश केन्द्रीय सदस्यहरुले साधारण सदस्यता कायम राख्नुपर्ने धारणा राखेका थिए । सदस्यहरुको सोही सुझावका आधारमा ढकालको साधारण सदस्यता कायम राख्दै अन्य सबै जिम्मेवारीबाट हटाउने निर्णय भएको नेता गाैतमले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
75
सम्बन्धित

लोकप्रिय

लोकप्रिय