विराटनगर । विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।
घाइतेमध्ये कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।
प्रहरीले भने घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको छ । मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको एसपी कार्कीले बताए ।