बाढीपहिरोले दुई दिनमै १५ को मृत्यु, जेठ मसान्तयता ६७ जनाको ज्यान गयो

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका घटनामा परी पछिल्लो दुई दिनमा देशभर १५ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । आइतबार साँझसम्म ३ जना बेपत्ता छन् ।


नेपाल प्रहरी केन्द्रीय कार्यालयले बाढीपहिरोमा परी शनिबार र आइतबार मात्रै काठमाडौं उपत्यकासहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा १५ जनाको मृत्यु भएको पुष्टि गरेको हो । शनिबार यताको भारी वर्षात्का कारण सबैभन्दा बढी गण्डकी प्रदेशमा जनधनको क्षति भएको छ । गण्डकीमा ६० घर डुबानमा परेका छन् भने डेढ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । ३ जना बेपत्ता छन् । बाढीले उदयपुरको बेलका–३ मा एक पुरुष, सुर्खेतको सिम्तामा एक बालिका र पहिरोमा परी स्याङ्जाको भीरकोटमा एक महिला बेपत्ता छिन् ।

त्यस्तै स्याङ्जाको बिरुवा नगरपालिका–६ र तनहुँको शुक्लागण्डकी–७ मा पहिरोले पुरिएर ३/३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा नै परी पर्वतको फलेबास कार्कीनेटामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाढीले बगाएर दाङको लमही र राजपुरमा दुई जनाको मृत्यु भएको छ भने पाल्पाको माथागढीमा एक जनाको मृत्यु भएको छ । काभ्रेको रोशीमा बाढीमा परी दुई जनाले ज्यान गुमाएका छन् ।


त्यस्तै काठमाडौंको नागार्जुनमा एक जनाको मृत्यु भएको जनाइएको छ । बाढीपहिरोमा परी पछिल्लो दुई दिनमा मृत्यु हुनेमा ७ पुरुष, ६ महिला र २ बालबालिका रहेका छन् । पहिरोमा परी स्याङ्जामा ७ र तनहुँमा ५ जना घाइते भएको प्रहरी प्रवक्ता कार्कीले जनाए । सिन्धुपाल्चोकको हेलम्बु, गुल्मीको रुरुक्षेत्र, चितवनको इच्छाकामना र ओखलढुंगामा ६ जना घाइते भएका छन् । बाढीमा परी काठमाडौंको दक्षिणकाली र बूढानीलकण्ठमा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

वर्षायाम सुरु भएदेखि नै जेठ मसान्तयता देशभर बाढीपहिरोलगायत मनसुनजन्य घटनामा परी ६७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी तथ्यांकअनुसार यस अवधिमा बाढीपहिरोमा परी मृत्यु हुनेमा २८ पुरुष, २२ महिला र १७ बालबालिका रहेका छन् । त्यस्तै ८३ जना घाइते भएका छन् । घाइते हुनेमा ३९ पुरुष, २९ महिला र १५ जना बालबालिका रहेका छन् । ६ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । हालसम्म बाढीका कारण १ सय २१ घर डुबानमा परेको, ८२ घर, ४६ गोठ, ४१ पुल, १ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी तथ्यांक छ । १ सय ८८ वटा पशु चौपायाको मृत्यु भएको छ । तीन साताको अवधिमा विपद्‍का घटनाबाट १ हजार ५८ घरपरिवारभन्दा बढी विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय