पहिरोमा परी एकजनाको मृत्यु, मध्यपहाडी राजमार्ग अवरुद्ध

डडेलधुरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोको ढुंगा लाग्दा परशुराम नगरपालिका–३, बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो ।


शनिबार बेलुका पहिरोबाट खसेको ढुंगा लाग्दा पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए । लगातारको झरीले खानेपानीको मुहानमा क्षति पुग्दा धारामा पानी बन्द भएको थियो । मुहान सफा गर्ने क्रममा पहिरोबाट खसेको ढुंगा लाग्दा शिक्षक पनेरुको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।

परशुराम–३ कै भातगाडा भनिने स्थानमा पानीको मुहान बनाउन गएका बेला माथिबाट खसेको पहिरोको ढुंगा लाग्दा पनेरुको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । तीन दिनदेखि लगातार वर्षाका कारण तराई–पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेलधुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्ने सडकमा क्षति भएको छ । भीमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१, शाहुखर्क, अमरगढी नगरपालिका–६, भालुमारेमा पहिरो खस्दा अवरुद्ध भएको हो ।


शाहुखर्कमा आइतबार बिहान पहिरो खसेको थियो । भालुमारेमा शनिबार राति नै पहिरो खसेको जनाइएको छ । डोजरले पहिरो हटाएपछि आजै दिउँसोदेखि राजमार्ग पुनः सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । उनका अनुसार, आइतबार बिहान सेती राजमार्गको रडुवामा पहिरो खस्दा केही समय राजमार्ग अवरुद्ध भएको थियो । पहिरो हटाएपछि सेती राजमार्ग पनि सञ्चालनमा आएको छ ।

तर, शनिबारदेखि अवरुद्ध बुडर–जोगबुडा सडक अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । सडकखण्डको सुनखोलानजिक माथिबाट पहिरो खसेको परशुराम नगरपालिकाका मेयर भरत जोशीले जानकारी दिए । शनिबार राति खसेको पहिरो हटाउन सकिएको छैन ।

शुक्रबारदेखि लगातरको झरीले जनजीवन प्रभावित भएको छ । जिल्लाका भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाले एक सूचना जारी गरी विद्यालय बन्द गरिएको छ । बाढीपहिरोको जोखिमलाई मध्यनजर गरी विद्यालय बन्द गरिएको अजयमेरुका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाले जानकारी दिए । ग्रामीण कच्ची सडक पूर्ण रूपमा बन्द छ । किसानले लगाएको मकैबालीमा वर्षाले ठूलो क्षति भएको छ । अविरल वर्षासँगै आएको हावाहुरीले मकैबाली नष्ट गरेको किसान बताउँछन् ।

किसानले लगाएको मकैका बोट सबै ढलेको छ । पानी पर्दा रोपाइँ गर्न सहज भए पनि मकैलगायत अरू खेतीपातीमा क्षति पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय