भाटभटेनी सुपरस्टोर्सले थप दुई हजार युवालाई रोजगारी दिने

काठमाडौं । देशको सबैभन्दा ठूलो सुपर मार्केट्स चेन भएको भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवाका लागि रोजगारी दिने घोषणा गरेको छ । अहिले भाटभटेनीमा छ हजार बढीले रोजगारी पाइरहेका छन् ।


भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार देशमा युवाहरूका लागि रोजगारीको अवसर कम भयो भन्ने जनगुनासोलाई ध्यानमा राख्दै भाटभटेनीले रोजगारीको अवसर सिर्जना गर्ने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेर आफूले रोजगारी सिर्जनाका लागि सरकारलाई सहयोग गर्ने वचन दिएको र सोही अनुरुप यो घोषणा गरिएको पनि गुरुङले बताएका छन् । काठमाडौंसहित देशभर रहेका भाटभटेनी स्टोरमा आफ्नो पढाई चालु राख्दै काम गर्नचाहने मेहनती युवा युवतीका लागि ‘पार्ट टाइम’ रोजगारी उपलब्ध गराउने सोच अनुरुप यो निर्णय लिइएको गुरुङले बताएका छन् ।


हालसम्म भाटभटेनीमा काम गर्न चाहनेहरूले आठ घण्टा काम गरेर महिना दिनमा सोही अनुसारको तलब बुझ्दै आएकोमा नयाँ योजना अनुसार रोजगारी पाउनेहरूलाई फरक नियम लागु हुने बताइएको छ । नयाँ प्रक्रिया अनुरुप जागिर खाने र काम गर्ने रोजगारलाई हरेक हप्ताको अन्त्यमानै उनिहरूले सो हप्ता कमाएको तलब दिईने व्यवस्था गरिएको पनि गुरुङले बताएका छन् ।

यस्तो जागिरको मौका २१ वर्ष भन्दा कम उमेर भएका र कुनै कलेजमा अध्ययनरत रहेका युवा–युवतीलाई मात्र दिइने छ । यसरी जागिर पाउने युवा–युवतीले दिनको चार घण्टामात्र र हप्तामा पाँच दिने काम गर्नेछन् । यसरी जागिर पाउने युवाहरूलाई उनीहरूले कुन दिन कुन समयमा आफ्नो ड्युटी गर्न सक्छन् सकभर सोही अनुसार काम दिइने व्यवस्था मिलाइने छ ।

कसैले बिहान, कसैले दिउँसो वा कसैले राति काम गर्न चाहन्छ भने सोहीअनुसार गर्न पाउने र अझ कसैले कुनै दिन बिहान र कुनै दिन राति वा दिउँसो गर्न चाहन्छ भनेपनि सकभर उसको ड्युटीको समय मिलाइने जनाइएको छ । मुलुकमा देखिएको बेरोजगारको अवस्था र युवा पलायनलाई रोक्न यस्तो योजना ल्याइएको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
1
+1
0
+1
1
+1
0
230
सम्बन्धित

लोकप्रिय

लोकप्रिय