अर्जुनधारा नगरपालिकाको प्रस्तावित बजेट ८५ करोड ५९ लाख

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ८५ करोड ५९ लाख १० हजार विनियोजन गरेको छ ।


आजदेखि सुरु नगरसभाको १५औं अधिवेशनमा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उक्त बजेट पेश गरेकी हुन्। नगरपालिकाले समपूरक कोषका लागि २ करोड ५० लाख, साझेदारी कार्यक्रमका लागि १ करोड ८० लाख र वडा समितिले छनौट गरेका वडास्तरीय कार्यक्रमहरु सञ्चालनका लागि ९ करोड ९० लाख विनियोजन गरेको छ ।

त्यस्तै, समपूरक कोष, साझेदारी कोष, प्रस्तावनामा आधारित कार्यक्रम, विपद् व्यवस्थापन कोष, संघसंस्था प्रवद्र्धन कार्यक्रम तथा जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालनका लागि २ करोड १५ लाख विनियोजन गरिएको छ । नगरसभाले शिक्षा, स्वास्थ्य, आयुर्वेद, सामाजिक विकासका अन्य क्षेत्रहरुमा कार्यक्रम सञ्चालनका लागि ५ करोड ९३ लाख, आर्थिक विकासका क्षेत्रहरु कृषि, पशुपालन तथा पर्यटन क्षेत्रको विकासका लागि लागि २ करोड ५ लाख विनियोजन गरिएको छ ।


यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रमका लागि १ करोड ५० लाख, सुशासन तथा संस्थागत विकाससम्बन्धी कार्यक्रमका लागि ७० लाख तथा भुमि व्यवस्थापनसम्बन्धी कार्यक्रमका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । यसैगरी, नगरपालिकाको आन्तरिक प्रशासनिक खर्च तथा सेवा व्यवस्थापनका लागि १२ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उक्त वार्षिक बजेटका लागि स्रोत व्यवस्थापनतर्फ नेपाल सरकारबाट सशर्त कार्यक्रमवापत ३८ करोड १२ लाख ८० हजार, वित्तीय हस्तान्तरणतर्फ १७ करोड ५ लाख, विशेष अनुदानतर्फ ७० लाख प्राप्त हुने उल्लेख छ । यस्तै, समपूरक अनुदानतर्फ १ करोड ४० लाख, राजश्व बाँडफाँडवापत १२ करोड ९५ लाख प्राप्त हुनेछ । त्यस्तै, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणवापत १ करोड ९ लाख १८ हजार, सवारी कर बाँडफाँडवापत १ करोड ६६ लाख ५० हजार, मालपोत रजिष्ट्रेशन बाँडफाँडवापत ४ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी, सशर्त अनुदानतर्फ २ करोड ३० लाख ६२ हजार, समपूरक अनुदान १ करोड ३० लाख प्राप्त हुने जनाइएको छ । नगरपालिकाबाट ८ करोड ५० लाख रुपैयाँ आन्तरिक आय संकलन गरिने लक्ष्य लिइएको छ। नगर प्रमुख बलदेवसिंह गोम्देनको सभाध्यक्षतामा सुरु भएको नगरसभाको अर्को बैठक असार १७ गते बस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय