बिर्तामोड । नेपाल आइडल सिजन–५ को टप ९ मा पर्न सफल झापाली चेली इशा सुवदीलाई भोट गर्न अपिल गरिएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार भेटघाटमा ‘इशा सुवेदी जिताऔं अभियान’को घोषणा गर्दै उनलाई भोट गर्न अपिल गरिएको हो ।
इशाका दाई बिराज सुवेदीको संयोजकत्वमा विभिन्न संघसंस्था तथा व्यक्तीहरु सम्मेलीत ‘इशा सुवेदी जिताऔं अभियान’को थालनी गरिएको हो । कार्यक्रममा अभियानका संयोजक सुवेदीले सानैदेखि गीत–संगीतप्रति रुचि राख्ने इशा सबैको मायाले हाल नेपाल आइडल सिजन ५ को उत्कृष्ट ९ मा पुगेकाले अझबढी सहयोगको अपिल गर्नुभएको हो ।
प्रतियोगिता जित्न कलासँगै भोटको पनि उत्तिकै आवश्यक पर्ने भएकाले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली तथा गीतसंगीत प्रेमीहरुलाई भोट गर्न सुवेदीले अपिल गर्नुभयो । कार्यक्रममा बिर्तामोड क्षेत्रका युवा तथा संगीतकार प्रकाश लिङ्देनले गायन क्षेत्रमा राम्रो सम्भावना बोकेकी इशालाई नेपाल आइडलमा जिताएर कला क्षेत्रमा स्थापित गराउन सबैले सहयोग गर्न आग्रह गर्नुभयो । कोशी प्रदेशबाट एक मात्र प्रतियोगी इशालाई जिताउन देशैभरबाट सबैको साथ सहयोग आवश्यक रहेकाले उहाँले बताउनुभयो ।
यस्तै, सनलाइट म्युजिक विद्यालयकी सञ्चालिका तथा संगीत प्रशिक्षक हेमा भण्डारी योञ्जनले गायन क्षेत्रमा इशाले राम्रो सम्भावना बोकेको बताउनुभयो । उनलाई जिताउन सबै लाग्नुपर्ने उहाँको भनाई थियो । संगीतप्रति रुचि र लगाब भएकी इशाले सनलाइट संगीत बिद्यालयमा प्रशिक्षण लिएकी थिईन् ।
बिर्तामोड निवासी इशा स्नातक तहकी विद्यार्थी हुन् । सानैदेखि गीत गाउन रुची राख्ने इशाले यही क्षेत्रमा स्थापित हुने सोच बनाएकी छन् । उनलाई जिताउन १५ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिले प्रचार–प्रसार र भोटिङका लागि अपिलसँगै गीत–संगीत प्रेमीसँग स्वेच्छिक आर्थिक सहयोगसमेत सकंलन गरिरहेको छ ।
इशालाई ई–सेवा, प्रभु पे र विदेशबाट मोःमोः एपबाट ०२ भोटिङ कोड राखेर भोट गर्न सकिन्छ । एसएमएसमार्फत ०२ टाइप गरी ३७००० पठाएर पनि भोट गर्न सकिन्छ । अघिलो चरण प्रवेशका लागि शनिबार बेलुकाबाट नै भोटीङ सुरु भएको छ । इशालाई अघिलो चरण प्रवेशकालागि आगामी मंगलबारसम्म भोट गर्न सकिने छ ।