अर्जुनधारा । झापा अर्जुनधारा-१ निवासी रामबहादुर निरौला र सावित्रा थापा निरौला दम्पतिले आफ्नो ५०औं विवाह वर्षगाँठको अवसरमा सिंहदेवी माध्यमिक विद्यालयमा ३ लाख १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
विवाह वर्षगाँठमा गरिने खर्चलाई शिक्षा क्षेत्रको उन्नयन र गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको शैक्षीक उन्नतिका लागि अर्जुनधारा १ स्थित सिंहदेवी माध्यमिक विद्यालयमा अक्षयकोषको घोषण गर्दै रकम प्रदान गरिएको निरौला दम्पतिले जानकारी दिनुभयो ।
अक्षयकोष दाता निरौला दम्पतिका छोरा पदम निरौलाले बुबाआमाको ५०औं विवाह वर्षगाँठको अवसरमा मनाईने समारोहको खर्चलाई शैक्षीक उन्नयनमा खर्च गर्ने गरि अक्षयकोष स्थापना गर्ने पारिवारिक सल्लाहपश्चात विद्यालयमा अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले बुबाआमाले समाजमा पुर्याउनु भएको योग्दानसंगै विद्यालयमा अक्षयकोषको स्थापनाले इतिहासमा सधैं स्मरण गराईरहने बताउनुभयो ।
अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलिको प्रमुख आतिथ्यमा भएको अक्षयकोष घोषणा तथा हस्तनान्तरण समारोहमा निरौला दम्पतिले अक्षयकोषका लागि ३ लाख १ सय ५१ रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रिजाल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुलाल ढकाल लगायतले उक्त चेक ग्रहण गर्नुभएको थियो ।
समारोहमा अक्षयकोष दाता निरौला दम्पतिलाई सम्मान–पत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । अक्षयकोष दाता रामबहादुर निरौला वि.स. २०४८ देखि २०५८ सम्म दुई कार्यकाल तत्कालीन खुदुनाबारी गा.वि.स.वडा नम्बर १ को निर्वाचित वडाअध्यक्ष, विभिन्न संघसंस्थाको अध्यक्षहुँदै विभिन्न सामाजिक कार्यमा आवद्ध बन्दै हालसम्मा समाज सेवामा सक्रिय रहनुभएको छ ।
वि.स. २०१२ चैत्र १४ गते जन्मनुभएका निरौला २०३१ साल फागुन १३ गते सावित्रा थापासंग विवाह बन्धनमा बाँधिनु भएको थियो । उहाँको जिवन संगीनी सावित्रा वि.स. २०१५ पौष २८ गते जन्मनुभएको थियो ।
समारोहमा निरौला दम्पतिलाई आफन्तजन, कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, अतिथि, शिक्षक, बिद्यार्थीलगायतले बधाई तथा शुभकामना प्रदान गरेका थिए ।