झापामा यो बर्षको दशैंमा दुर्घटना घट्यो, मृत्युदर बढ्यो

बिर्तामोड । झापामा गत वर्षको तुलनामा यस वर्षको दशैंमा सवारी दुर्घटना घटेपनि मृत्युदर भने बढेको छ । गत वर्षको दशैंमा घटस्थापनादेखि पूर्णिमासम्म जिल्लाभरि ४० वटा दुर्घटना भएकोमा यस वर्ष घटस्थापनादेखि पूर्णिमासम्म २२ वटा दुर्घटना भएका छन् । तर, गत वर्ष ६ जनाको मृत्यु भएकोमा यस वर्ष ७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।


त्यस्तै गत वर्ष दशैंमा ६२ जना घाइते भएका थिए भने यस वर्ष ३० जना घाइते भएका छन् । गत वर्षको तुलनामा सवारीसाधनमाथिको कारबाही, मादक पदार्थ सेवन कारबाही पनि घटेको छ । गत वर्ष १४९९ सवारीमाथि कारबाही र ६७ जनालाई मादक पदार्थ सेवनको कारबाही गरिएको थियो । यस वर्ष ११४६ सवारीमाथि कारबाही र ५७ जनालाई मादक पदार्थ सेवनको कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष दशैंमा १० लाख २ हजार रुपैयाँ राजश्व असुली भएकोमा यस वर्षको दशैंमा ७ लाख ५४ हजार रुपैयाँ राजश्व उठेको छ ।

ट्राफिक प्रहरीले सकेसम्म दुर्घटना न्यूनीकरण गर्न खोजे पनि ट्राफिक प्रहरीको पहुँचभन्दा टाढा ग्रामीण क्षेत्रमा यस वर्ष ६० प्रतिशतभन्दा बढी दुर्घटना भएको उहाँको भनाई छ । खुदुनाबारी, बाह्रदशी, गौरीगञ्जलगायतका भित्री सडकमा भएका दुर्घटनाका कारण मृत्युदर बढेको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो । दुर्घटना र घाइतेको सङ्ख्यामा कमी आएर सवारी र मापसे कारबाही घट्नु पनि सकारात्मक भएको उहाँले दाबी गर्नुभयो । झापामा जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित २० वटा ट्राफिक पोस्टहरू रहेका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय